काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई द्रुत गतिमा विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व अपरिहार्य रहेको बताएका छन् ।
शनिबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री घिसिङले आगामी निर्वाचनपछि देशमा युवा नेतृत्व आउनुपर्ने र त्यही नेतृत्वले मात्र मुलुकलाई विकासको मार्गमा अघि बढाउन सक्ने जिकिर गरे ।
उनले आगामी निर्वाचनपछि बन्ने सरकारले देशलाई सही दिशामा लैजानुपर्ने भएकाले सोही सोच बोकेको युवा नेतृत्व चयन गर्न सबैले भूमिका खेल्नुपर्ने बताए ।
मन्त्री घिसिङले पूर्वाधार विकासलाई तीव्रता दिन निजी क्षेत्रको लगानी अत्यावश्यक रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक ऐन, कानुन र नीतिगत सुधारमा ढिलाइ गर्न नहुनेमा जोड दिए ।
उनले पूर्वाधार क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्न व्यापक कानुनी सुधार आवश्यक रहेको बताए । ‘पूर्वाधारको क्षेत्रमा निजी क्षेत्रलाई कसरी अगाडि बढाउने र बढीभन्दा बढी लगानी गराउने भन्ने विषयमा ऐन र कानुनमा ठुलो परिवर्तन आवश्यक छ,‘मन्त्री घिसिङले भने, ‘यो काम आगामी सरकारले गर्नुपर्छ । यदि आगामी सरकार पनि पुरानै शैलीमा सञ्चालन भयो भने त्यसले देशको विकासमा कुनै ठोस योगदान दिन सक्दैन।’
उनले अब बन्ने सरकार विकासमुखी (डेभलपमेन्ट ओरिएन्टेड) र परिवर्तन ल्याउन सक्ने नेतृत्वसहितको हुनुपर्नेमा जोड दिए । देशको द्रुत विकासका लागि ठुलो परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि युवा तथा विकास प्रेमी नेतृत्व अनिवार्य रहेको उनको भनाइ थियो ।
मन्त्री घिसिङले आगामी निर्वाचन सफल होस् भन्ने कामना गर्दै विकासमुखी युवा नेतृत्व चयनका लागि सबैलाई सक्रिय हुन आग्रह गरे ।
यसैबीच उनले मुलुकमा पूर्वाधार विकासले अपेक्षित गति लिन नसक्नुमा निर्माण व्यवसायीहरू पनि जिम्मेवार रहेको आरोप लगाए । निर्माण कार्यमा ढिलासुस्ती र जिम्मेवारी नबोक्दा विकास प्रक्रिया प्रभावित भएको उनको टिप्पणी थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया