हितेन्द्रदेव शाक्यले सम्हाले विद्युत् प्राधिकरणको कार्यभार 

लोकपथ
448
Shares

काठमाडौं । सर्वोच्च अदालतले गरेको पुनर्बहालीसँगै हितेन्द्रदेव शाक्यले आज बुधबार नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद सम्हालेका छन् । उनले प्राधिकरण कार्यालयमा कार्यकारी निर्देशकको पद सम्हालेका हुन् ।

गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर जल तथा ऊर्जा आयोगमा ऊर्जा विशेषज्ञका रूपमा सरुवा गरेकोमा सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णय बदर गर्दै शाक्यलाई पुनः प्राधिकरणकै कार्यकारी निर्देशक पदमा पुनर्स्थापना गर्न आदेश दिएको थियो ।

सर्वोच्चले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रस्ताव पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको ठहरसमेत गरेको थियो ।

‘नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकलाई सो पदबाट हटाउनुपर्दा नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको सर्त तथा सुविधासम्बन्धी विनियावली, २०६१ वा निजसँग गरिएको कार्यसम्पादन सम्झौतामा उल्लिखित प्रकृया र आधारमा हटाउन सकिनेमा सो बमोजिमको कुनै पनि प्रकृया अवलम्बन नगरी उक्त पदबाट हटाएको देखिँदा निजलाई सो पदबाट हटाउने विपक्षी विभागीय मन्त्रीको प्रस्ताव नै पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिन आयो,’ सर्वोच्चको आदेशमा भनिएको थियो ।

तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गरी अघिल्लो सरकारले ११ चैत २०८१ मा शाक्यलाई प्राधिकरणको प्रमुखमा नियुक्त गरेको थियो । त्यस निर्णयविरुद्ध घिसिङ सर्वोच्च अदालत गए पनि अन्तरिम आदेश पाएका थिएनन् । जेनजी आन्दोलनपछि घिसिङ ऊर्जामन्त्री नियुक्त भएपछि लामो समयदेखिका प्रतिस्पर्धी शाक्यलाई पदबाट हटाएर आफ्ना निकट सहयोगी मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?