नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : पूर्वराष्ट्रपति यादव

लोकपथ
49
Shares

पर्सा । पूर्व राष्ट्रपति डा.रामवरण यादवले नेपालले आँखा उपचार सेवामा उल्लेखनीय प्रगति गरेको भन्दै यस क्षेत्रमा देश दक्षिण एसियामै विशिष्ट भएर उभिएको बताएका छन् ।

वीरगञ्ज दृष्टि आँखा, नाक, कान र घाँटी अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै उनले भारतका विहार, उत्तरप्रदेश, बंगाललगायत उत्तर प्रदेशीय राज्यका बिरामी समेत नेपालमा आँखा उपचारका लागि आउने तथ्य नै यहाँको गुणस्तरीय सेवा प्रमाणित गर्ने उदाहरण भएको उल्लेख गरे ।

यादवले पञ्चायत कालपछि नेपालले आँखा उपचारमा निरन्तर प्रभावकारी र परिणाममुखी सेवा विकास गर्दै आएको बताउँदै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले यसलाई अझ उत्कृष्ट बनाउन जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।

‘बिरामीहरू ठूलो विश्वास र अपेक्षा लिएर चिकित्साकहाँ आउँछन्, त्यसैले यो पेसालाई मानवीय सेवा भावले अघि बढाउनुपर्छ,‘उनले भने । ‘पैसा कमाउने अन्य पेसा धेरै छन्, तर चिकित्सा पेसाको पवित्रता जोगिनुपर्छ ।’

अस्पतालका कार्यकारी निर्देशक भाइराजा श्रेष्ठले नवनिर्मित अत्याधुनिक भवनबाट आँखा, नाक, कान, घाँटी लगायतका उपचार सेवा अझ प्रभावकारी रूपमा प्रदान भइरहेको जानकारी दिए । उनका अनुसार विगत १० वर्षमा १३ लाखभन्दा बढी बिरामीको उपचार भइसकेको छ, जसमा एक लाखभन्दा बढी आँखाको शल्यक्रिया समावेश छन् ।

मेडिकल निर्देशक हरि शर्माले आर्थिक अभावका कारण कोही पनि बिरामीले दृष्टि गुमाउन नपरोस् भन्ने ध्येयका साथ अस्पतालले सेवा सञ्चालन गरिरहेको बताए ।

कार्यक्रममा आँखासम्बन्धी वरिष्ठ विशेषज्ञ डा.राधाकृष्ण कोइराला र डा.वीरसिंह थापालाई सम्मान गरिएको थियो । अस्पतालका अध्यक्ष विश्वराज गौतमले भविष्यमा अझ अत्याधुनिक सेवा विस्तार गर्दै बिरामी मैत्री सेवा प्रवाहलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?