दुर्गा प्रसाईँलक्षित शिक्षामन्त्री पुनको कटाक्ष– ‘हावादारी आश्वासन दिएर जनता नझुक्क्याऊ’

लोकपथ
112
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरेका ठुला आर्थिक र सामाजिक परिवर्तनका दाबीहरूलाई तथ्यहीन र अव्यवहारिक भन्दै कडा आलोचना गरेका छन् ।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत प्रसाईँलाई सम्बोधन गर्दै देशको वास्तविक आर्थिक अवस्था उजागर गर्दै भने,‘ हालको अवस्थामा यी दाबीहरू असम्भव छन् ।’ उनले पैसा अभावका कारण धेरै शिक्षकलाई स्थानीय भत्ता वा महँगी भत्ता दिन सकिएको छैन । छाना नभएका र कक्षाकोठा अभाव भएका विद्यालयले सहयोग माग्दा समेत उनीहरू खाली हात फर्किनुपरेको बताए । शिक्षक पठाउन जगेडा बजेट समेत नभएको अवस्था रहेको उनले स्पष्ट पारेका छन् ।

मन्त्री पुनले प्रसाईँले गरेका छ लाख जनतालाई कालो सूचीबाट हटाउने, सेना र प्रहरीको तलब मासिक  १ लाख बनाउने, र  २० लाखसम्मको ऋण मिनाहा गर्ने जस्ता घोषणालाई असम्भव भन्दै प्रश्न उठाएका छन् । उनले चेतावनी दिए कि यस्तो काम गर्दा बैंकमा रहेका जनताको पैसामा जोखिम आउन सक्छ ।

पुनले प्रसाईँलाई आर्थिक यथार्थ बुझ्न र ‘छापाखानामा किताब छापे जस्तै’ पैसा छापेर दाबी नगर्न आग्रह गरेका छन् । उनका अनुसार, अव्यवहारिक आश्वासनले जनतालाई झुक्याउन सक्ने भएकाले सतर्क रहन जरुरी छ ।

मन्त्री पुनले यसअघि पनि रेल, पानीजहाज ल्याउने र नेपाललाई सिंगापुर बनाउने जस्ता अव्यवहारिक आश्वासन दिने व्यक्तिहरू हाँसोको पात्र बनेको उदाहरण दिँदै, तथ्य र बुझाइका आधारमा मात्रै कुरा गर्न सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?