एफक्यान रोड रेसमा उत्साहको माहोल : राजन रोकाय र पूर्णलक्ष्मी न्यौपाने विजयी

लोकपथ
42
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले १८औँ निर्माण दिवसको अवसरमा शनिबार आयोजना गरेको ‘एफक्यान रोड रेस-२०२५’ दङ्ग-उत्साहपूर्ण माहोलमा सम्पन्न भएको छ । 

खुला, कर्पोरेट, विद्यार्थी तथा भेट्रान गरी विभिन्न समूहमा कुल ४७१ धावकले प्रतिस्पर्धा गरेका थिए ।

खुला १० किलोमिटरतर्फ पुरुषमा त्रिभुवन आर्मी क्लबका राजन रोकाय पहिलो भए भने सहकर्मी सञ्जय श्रेष्ठ दोस्रो र सशस्त्र प्रहरीका तयाहाङ राई तेस्रो भए ।

महिलातर्फ आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने प्रथम, निशा सार्की दोस्रो र राज्यलक्ष्मी रावल तेस्रो भइन् ।

खुला समूहका विजेता पहिलो, दोस्रो र तेस्रोले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

कर्पोरेट समूहमा पुरुषतर्फ रामचन्द्र श्रेष्ठ, राकेश महर्जन र सुशील कुमार श्रेष्ठ शीर्ष तीनमा परे। महिलातर्फ सोनु घतानी पहिलो भइन् भने नगिना महर्जन र रजिना दुलाल क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

भेट्रान समूहमा पुरुषतर्फ धर्म महर्जन, अभिनारायण अधिकारी र जापानका मिजुकी मात्सुजाकीले शीर्ष स्थान हासिल गरे । महिलातर्फ कल्पना महर्जन, शर्मिला बस्नेत र चारु अर्यालले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान पाए।

विद्यार्थी वर्गमा छात्रतर्फ हस्तबहादुर सुनार, अजय बी।के। र रञ्जित राउतले शीर्ष तीन स्थान ओगटे भने छात्रातर्फ भगवती खड्का, शर्मिला बी.के र आयुष्मा आचार्य विजयी भए ।

कर्पोरेट, स्कुल विद्यार्थी र भेट्रान ५ किलोमिटर दौडका विजेताले १० हजार, ६ हजार र ४ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

रोड रेसमा इटाली, चीन र जापानका धावकसहित अन्तर्राष्ट्रिय सहभागिता उल्लेखनीय रह्यो। महासंघका अध्यक्ष रवी सिंहले यस कार्यक्रमलाई आगामी वर्षहरूमा ‘मार्की इभेन्ट’को रूपमा निरन्तरता दिने घोषणा गरे ।

१० किलोमिटर दौड महासंघ सचिवालयबाट सुरु भई बिजुलीबजार पुल, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट र तिलगंगा हुँदै सोही मार्गबाट फर्केर टुंगिएको थियो । ५ किलोमिटर दौड पनि सचिवालयबाट सुरु भई बिजुलीबजारमार्ग हुँदै सम्पन्न भएको थियो ।

कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?