काठमाडौं । अध्यागमन विभागले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने तयारी गरेको छ ।
नेपाल भित्रिने विदेशी नागरिकहरूको तथ्यांक व्यवस्थित ढंगले संकलन, अभिलेखन र विश्लेषण गर्न उक्त प्रणाली लागू गर्न लागिएको हो ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले पर्यटकहरूको सुरक्षाको सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवर्द्धन र अपराध नियन्त्रणका लागि उक्त प्रणाली लागू गर्न लागिएको जानकारी दिए । महानिर्देशक तिवारीले मुलुकमा प्रवेश गर्ने विदेशी नागरिकको गतिविधि र आवाससम्बन्धी विवरण राज्यलाई अनिवार्य रूपमा थाहा हुनुपर्ने स्पष्ट पार्दै आगामी जनवरी १ देखि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’लागू हुने बताए ।
उनले भने, ‘जसरी राज्यका नागरिकहरूको अवस्थाबारे राज्यलाई थाहा हुनुपर्छ त्यसरी नै विदेशी नागरिकको अवस्थासँगै उनीहरू आएको मुलुकको अवस्था पनि सरकारलाई जानकारी हुन अपरिहार्य छ । सोही कारण यो प्रणालीको विकास गरिएको हो ।
महानिर्देशक तिवारीले थपे, ‘विदेशी पर्यटकलाई स्वतन्त्रता छ भन्दैमा राज्यलाई थाहा हुनुपर्दैन भनेको होइन, राज्यले चासो नराख्नुपर्ने ठाउँमा राख्न पाउँदैन । तर राख्नुपर्ने ठाउँमा राख्नुपर्यो । कोही मान्छे चुकुल लगाएर कोठामा पसे पछि यो कोठामा छिरेको थियो भन्नेसम्म सरकारले हेर्न पाउँछ, फलानो होटलमा छिरेको थियो भन्ने राख्न त राज्यले अहिले पनि अनिवार्य नै गरेको छ, पहिचानसहितको राख्नुपर्छ भनिएको छ । त्यसो हुँदा अब हामी कहाँ अब कुनै विदेशी पनि नेपाल आएपछि हामीले जनावरी १ देखि ‘एकोमोडेसन’ अनिवार्य घोषणा गर्नुपर्नेछ ।’ विभागले यो प्रणालीबारे जानकारी दिन आयोजित छलफलमा ‘नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स ऐजन्ट्स’की वरिष्ठ उपाध्यक्ष तेजस्वी तुलाधरले आफूले पनि यो प्रणालीको बारेमा पर्यटकहरूलाई बुझाउने बताइन् । उनले यो प्रणाली लागू गर्दा विदेशी पर्यटकको जानकारी राख्न समेत सघाउ पुग्ने बताइन् । उनले अध्यागमनमा सुधारको खाँचो समेत रहेको औँल्याइन् ।
उनले थपिन्, ‘दुबईसहित विदेशी मुलुकहरूले पर्यटकहरूलाई फ्रीमा सिम दिने गर्छन्, त्यो व्यवस्था नेपालमा समेत अध्यागमनबाटै मिलाउँदा उनीहरूको अवस्था बुझ्न सहज हुनेछ ।’
वरिष्ठ उपाध्यक्ष तुलाधरले भनिन्, ‘मेरो बुझाइअनुसार सरकारले लागू गर्न लागेको यो प्रणाली ट्र्याकिङ नै हो । मेरो विचारमा यो गलत होइन किनभने यसले टुरिस्टको पनि सेप्टी हुनेछ र हामीलाई डेटाहरू संकलन गर्न सघाउ पुग्नेछ । त्यो काम राम्रो छ । हामी कहाँ जुन पर्यटक आउँछ, पर्यटक आउँदा उहाँहरूलाई प्रणालीबारे जानकारी गराइएन भने यो डेटा लिन गाह्रो हुन्छ ।’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले व्यवस्थित यातायात प्रणालीको विकास हुन जरुरी रहेको बताए । उनले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्न सरकारले होटल, एयरलाइन्सलगायतका क्षेत्रसँग पनि समन्वयन गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष स्वाँरले भने, ‘यातायात व्यवसायीहरूलाई नागरिक तह र राज्यबाट दोषी पात्रको रूपमा हेरिन्छ, त्यो हामी स्विकार्छौं किनभने म्यानेजमेन्ट सिस्टम राम्रो छैन । सार्वजनिक यातायात अहिले पनि व्यवस्थित हुन सकेको छैन, तर पनि सुधारीकरणमा हामी लागिरहेका छौँ । अर्को कुरा अहिले अध्यागमनले जुन सिस्टम लागू गर्न खोजेको छ, यो राम्रो छ ।’
होटल एसोसिएसन नेपालका महासचिव साजन शाक्यले सरकारले लागू गर्न लागेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ जनवरी १ देखि कार्यान्वयन गर्न कठिन हुने बताउँदै थप समय आवश्यक पर्ने बताए । उनका अनुसार स्टार होटलहरू पर्यटन विभागमा दर्ता भएकाले कार्यान्वयन सहज देखिए पनि सरकारी नीतिबारे पर्याप्त छलफल पुग्न सकेको छैन ।
शाक्यले भने, ‘जनावरी १ देखि लागू गर्ने भनिएको छ स्टार होटलहरुमा । अब यो चाहिँ स्टार होटलहरुको पर्यटन विभागमा दर्ता नै छ, त्यो चाहिँ अलिकति सहज नै होला, अरू तिर लागू गर्न अलिकति होमवर्क गर्दा राम्रो होला । आउने आर्थिक वर्षको साउन १ गतेबाट गर्दा उपयुक्त होला ।’
विभागले २०८२ पुस १७ गतेबाट उपत्यकाका तारे होटलहरुमा यसको पहिलो चरणको लागू गर्ने र २०८२ फागुन १७ बाट देशभरका होटल, एयरलाइन्स, होमस्टे, ट्रेकिङ कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जर कम्पनी तथा अन्य सबै सेवा प्रदायकहरूमा यसको अनिवार्य लागू गर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया