बुढीगण्डकी परियोजना तत्काल अगाडी बढाउन सरोकारवालाहरुको माग

लोकपथ
210
Shares

काठमाडौं । लामो समयदेखि अलपत्र परेको राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी परियोजना तत्काल अगाडी बढाउन सरोकारवालाहरुले माग गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरुलाई बुधबार भेटेर उनीहरुले परियोजनालाई अगाडी बढाउन माग गरेका हुन् ।

पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी परियोजना छिटो भन्दा छिटो शुरुवात गर्न आग्रह गरेको जानकारी दिए ।

उनले शुरुमा नेपाल आफैँले परियोजना बनाउने भनेपनि पछिल्ला सरकारहरुले त्यसलाई विभिन्न बाहानामा अड्काएर राखेको आरोप लगाए । हाल कम्पनीमार्फत परियोजनाको काम अगाडी बढाउने कुरा आएकोले त्यसलाई पनि छिटो सञ्चालन गर्न प्रधानमन्त्रीसँग आग्रह गरिएको उनको भनाई छ । अर्थमन्त्री रामेश्वर खनाल परियोजनाका बारेमा आफू धेरै जानकार रहेको उल्लेख गर्र्दै यसलाई अगाडी बढाउन कुनै समस्या नभएको बताएको डा. भट्टराईले जानकारी दिए ।

यो परियोजना छिट्टै सूरु गर्न सक्ने सरकारको कुरा आएको उनको भनाई छ ।

उनले भने, ‘बुढीगण्डकी परियोजना छिटो भन्दा छिटो शुरुवात गरिनु पर्‍यो । नेपाल आफैँले बनाउने भन्ने शुरुमा यसको निर्णय थियो, विकास समितिमार्फत । पछिल्ला सरकारहरुले त्यसलाई विभिन्न बहानामा अड्काए र अहिले कम्पनी मार्फत जुन अगाडी बढाउने कुरा आएको छ, त्यसैले हाम्रो भनाई चाहीँ के छ भने तुरुन्तै यसलाई शुरुवात गरियोस् । त्यसमा अर्थमन्त्री यसको जानकार पनि हुनुहुन्छ । उहाँ यो शुरुवातको बेलामा मेरो आर्थिक सल्लाहाकार पनि हुनुहुन्थ्यो । उहाँले प्रधानमन्त्रीज्युको अगाडी नै भन्नुभयो, यसलाई अगाडी बढाउन कुनै समस्या छैन । हामी छिट्टै सूरु गर्न सक्छौँ भन्ने कुरा भएको छ ।’

त्यस्तै उनले परियोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई पूर्वाधार निर्माण गर्नुपर्ने बताए । उनले बुढीगण्डकी आयोजना जलविद्युत आयोजना मात्रै नभई बहुउदेश्य आयोजना भएकोले स्थानीयहरुलाई विस्थापित नगरिकन पर्यटन विकास, आर्थिक गतिविधिको विकास गर्नुपर्ने बताए । उनले परियोजनाको वरिपरि चक्रपथ बनाएर स्थानीयलाई सोही क्षेत्रमा पुनस्थापित गर्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्रीले परियोजनाप्रति चासो राखेको उल्लेख गर्दै परियोजना निर्माणको लागि सरकार सकरात्मक रहेको पाएको बताए ।

पूर्वमन्त्री एवं विघठित प्रतिनिधि सभाका सदस्य राजेन्द्र पाण्डेले २०६९ सालमा नै डीपीआर तयार भएर र ईआईए सम्पन्न भईसकेपनि हालसम्म बन्न नसकेको बताए ।

१२ सय मेगावटको जलाशाययुक्त आयोजना २०६९ सालमा नै शुरु भएको भए हाल बनिसकेको हुने उल्लेख गरे । उनले त्यति खेर २ खर्व ६९ अर्वमा परियोजना सम्पन्न हुने भएपनि अब बनाउँदा ४ खर्ब ६ अर्व लागत लाग्ने स्थितिमा पुगेको बताए । उनले अब पनि नबनाए थप लागत बढ्दै जाने भएकोले तत्काल काम अगाडी बढाउनुपर्ने बताए ।

उनले ४५ अर्ब जमिनको मुआब्जा वितरण गरिसकेको उल्लेख गनुहुँदै परियोजना निर्माणमा जति ढिलो गर्‍यो, राज्यलाई त्यति नै बढी नोक्शानी हुने दाबी गरे ।

उनकाअनुसार परियोजना बनेको भए वार्षिक ३२ अर्व रुपैयाँ बिजुली बेचेर आम्दानी गर्न सकिन्थ्यो ।

विघठित प्रतिनिधि सभाका सदस्य एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले बुढिगण्डकी जलविद्युत परियोजना मात्रै हो की भन्ने शंकामा रहेको पाइएको जानकारी दिए ।

उनले त्यो शंका निवारण भएको बताए ।

उनले बुढीगण्डकी परियोजनाको नामबाट उठेको रकम हरेक आर्थिक वर्षमा बुढीगण्डकीको खातामा फर्काउने अर्थमन्त्री रामेश्वर खनालले प्रतिवद्धता जनाएको उनले जानकारी दिए । उनकाअनुसार २९ अर्व रुपैयाँ वार्षिक परियोजनाको खातामा जम्मा हुने देखिएको छ ।

धादिङ र गोरखाका सरोकारवालाहरुले प्रधामन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल लगायतलाई भेटेर बुढीगण्डकी परियोजना निमार्णको लागी दबाब दिएका हुन् । भेटघाटमा आयोजना प्रभावित जिल्लाका राजनितिक दल, जनप्रतिनिधि, विस्थापित परिवार लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?