उदयपुर । सिद्धिचरण लोकमार्ग सडक खण्डको उदयपुरको कटारी नगरपालिका–१४ पाखिमारे त्रिचालिस किन्दु भिरबाट बोलेरो खस्दा एक जनाको ज्यान गएको छ । ना१ज ५८१२ नम्बरको टाटासुमो गाडी दुर्घटना हुँदा ललितपुरको महालक्ष्मी नगरपालिका–९ लिबुका ३४ वर्षीय दीपेन्द्र केसीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारमान दोङले चार दिनअघि मध्यराति दुर्घटना भएको बोलेरो र शव आज मंगलबार बिहान फेला परेको बताए ।
टाटासुमो गाडी चलाई काठमाडौंबाट उदयपुरको ताप्ली गाउँपालिका–५ रुपाटार आउँदै गरेका केसी चार दिनपछि आफू सवार गाडीसहित मृत फेला परेका हुन् । उनी तीन दिनअघि मंसिर १३ गते शनिबार काठमाडौंबाट उदयपुरको रुपाटार जाने भन्दै टाटासुमो गाडी आफैले चलाएर आएका थिए ।
स्थानीयका अनुसार खोजतलासपछि उदयपुरको घुर्मी नजिकै पाखेमारा भन्ने ठाउँमा सडकदेखि करिब १ किलोमिटर तल गाडी दुर्घटना भएको अवस्थामा केसी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
गाडीमा एक्लै रहेका उनी मानव बस्तीबाट टाढा रहेको जंगलबीच मध्यरात करिब १२ बजेतिर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
टाटासुमो गाडी चालक केसी सम्पर्कविहीन भएको दिन राति ८ः५८ बजे बिपी राजमार्गअन्तर्गत खुर्कोट प्रहरी चेकपोस्टमा गाडी सहित इन्ट्री भएको बताइएको छ । लगत्तै राती १०ः५५ बजे उनले अन्तिम पटक परिवारलाई सम्पर्क गरी आफू उदयपुरको घुर्मी पुग्न करिब ७ किलोमिटर मात्र बाँकी रहेको जानकारी दिएका थिए । त्यसपछि गाडीसहित बेपत्ता भएका दीपेन्द्रको मोबाइल रिङ बजे पनि रिसिभ हुन छोडेपछि शंका लागेर परिवारले प्रहरीको सहयोगमा खोजीकार्य तीव्र बनाएको थियो । मोबाइल लोकेसन ट्रेस गर्दा लोकेसन घुर्मी नजिकै लगभग १ सय मिटर वरिपरि देखिएपछि सोही क्षेत्रतिर आफन्त, स्थानीय र प्रहरीले खोजतलास बढाएसँगै दुर्घटनाग्रस्त गाडी र शव पत्ता लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया