हेमराज ढकाल भन्छन् : ‘राजनीतिमा जस्तै उद्योग खोल्ने प्रतिस्पर्धा गरौँ’

लोकपथ
119
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा कम्पनी दर्ता, उद्यमशीलता र उद्योग सञ्चालन सहज बनाउने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा परिषदले बुधबार आयोजना गरेको कार्यक्रममा उनले हाल देशमा राजनीतिक दलहरू खोल्न प्रतिस्पर्धा जस्तै भइरहेको भए पनि उद्योग र उद्यम खोल्नको प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका हुन् ।

उपाध्यक्ष ढकालले राजनीतिक दल खोल्ने मात्रले देशमा समृद्धि नआउने भन्दै आर्थिक सुधार, उद्यमशीलता र उद्योग विस्तारलाई राजनीतिक एजेन्डामा मुख्य प्राथमिकतामा राख्नुपर्ने बताए । उनले आगामी निर्वाचनका घोषणापत्रमा कम्पनी दर्ता, उद्यम सञ्चालन र उद्योग विस्तारलाई सहज बनाउने स्पष्ट नीति समावेश गर्नुपर्नेमा जोड दिए ।

ढकालले पुराना कानुनहरू समयानुकूल परिवर्तन गर्नुपर्ने, ५० वर्ष पुराना प्रणालीले नयाँ पुस्ताको क्षमता सम्बोधन नगर्ने, र देशको भौगोलिक अवस्थालाई रणनीतिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए । उनले भने, ‘जसरी देशमा दिनानुदिन नयाँ दल खोलिन्छ, त्यस्तै हाम्रो घोषणापत्रमा पनि कम्पनी, उद्यमशीलता र उद्योग खोल्नको लागि नीति स्पष्ट हुनुपर्छ। राजनीति र अर्थतन्त्रलाई समानान्तर अघि बढाउन सक्नुपर्छ, नत्र समृद्धि सम्भव छैन ।’

उनले पुराना पुस्ताको अनुभव र नयाँ युवाहरूको सोचलाई सँगै अगाडि बढाएर देश समृद्ध बनाउनुपर्नेमा जोड दिए । नेपालमा झन्डै ४२ प्रतिशत युवा जनसंख्या रहेको उल्लेख गर्दै ढकालले एआई, मेसिन लर्निङ र नयाँ प्रविधिमा आधारित उद्यमशीलता विकास गर्न सके छिट्टै समृद्धिको बाटो समात्न सकिने बताए ।

उपाध्यक्ष ढकालका अनुसार, युवाहरूलाई उद्यम र नवप्रवर्तनमा प्रत्यक्ष पहुँच दिलाउने नीति निर्माण भएमा मात्र नेपालले दिगो आर्थिक प्रगति हासिल गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?