काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले न्यु बुटवल सबस्टेसन र १८ किलोमिटर लामो प्रसारण लाइनको औपचारिक निर्माण कार्य थालनी गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा आयोजित विशेष समारोहमा निर्माण कार्यको थालनी गरिएको हो। एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको यो पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्त बनाउने मात्र नभई नेपाल–भारत बिच ऊर्जा व्यापारका लागि पनि अन्तरसम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ ।
समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, तथा एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट उपस्थित थिए।
कार्यक्रममा मन्त्री खनालले भने, ‘स्वच्छ ऊर्जामा पहुँच विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि र दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पुर्याउने राष्ट्रिय लक्ष्यमा नेपाल सरकारको पूर्ण प्रतिबद्धता रहिरहनेछ ।’
१८ किलोमिटर लामो प्रसारण लाइनमार्फत ४०० केभी न्यु बुटवल सबस्टेशनलाई नेपाल–भारत सीमासँग जोडिनेछ । करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण हुने यस ऊर्जा पूर्वाधारले आगामी दशकभित्र १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ ।
‘यो आयोजना सम्पन्न भएपछि देशमा विद्युत् आपूर्ति थप भरपर्दो बन्ने, विद्युत चुहावट घट्ने, नयाँ निजी लगानी आकर्षित हुने, व्यवसाय सञ्चालन खर्च घट्ने र राष्ट्रिय विकास प्राथमिकतामा पुनःलगानी गर्न सकिने विश्वास गरिएको छ। साथै, यसले नेपालको अन्तर्राष्ट्रिय ऊर्जा व्यापारमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ एमसीए नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया