मनाङमा बेपत्ता दुई भारतीय बाबुछोरीको शव २० दिनपछि फेला 

लोकपथ
1.1k
Shares

काठमाडौं । गत कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षीय जिग्नेसकुमार लल्लु भाइ पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको छ । उनीहरू बाबु छोरी भएको बताइएको छ ।

मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कात्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनी हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए । उनीहरू सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो । 

सम्पर्कविहीन भएका उनीहरूको तालिम शिक्षालय मनाङले खोजीकार्य गरिरहेकोमा नभेटिएपछि पुनः कात्तिक २३ गते सशस्त्र प्रहरी नायव उपरीक्षक हीराबहादुर जिसीको कमान्डमा उद्धार सामाग्रीसहित टोली खटिएको थियो । 

माउन्टेन रेस्क्यु तालिम प्राप्त टोलीले उनीहरूको शव उक्त गुम्बाबाट करिब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हो । शवलाई घटनास्थलबाट तल झार्ने कार्य भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?