काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीसँगै रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड बढेको छ । नाम दर्ता गराउनेमध्ये अधिकांश युवापुस्ता रहेका छन् ।
जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार कात्तिक १९ गतेसम्म रुपन्देहीमा चार हजार २८८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । तीमध्ये दुई हजार ५८४ पुरुष र एक हजार ७०४ महिला छन् ।
‘हाल दर्ता गर्न आउनेमध्ये करिब ८० देखि ९० प्रतिशत युवायुवती छन्,’ अधिकारी अर्यालले बताइन्, “पहिले दैनिक ३० जना हाराहारीमा दर्ता हुन्थे, अहिले भने दैनिक करिब २०० जना नयाँ मतदाता नाम दर्ता गराइरहेका छन् ।”
उनका अनुसार असोज १० गतेदेखि रुपन्देहीमा मतदाता नामावली दर्ता र अद्यावधिक कार्य सुरु भएको हो । बाहिरी जिल्लाबाट रुपन्देहीमा दर्ता गर्न आउनेहरू पनि उल्लेख्य रहेको बताइएको छ ।
हाल जिल्लामा कुल छ लाख ४४ हजार ३५६ मतदाता छन्, जसमा तीन लाख ३० हजार ७४१ पुरुष र तीन लाख १३ हजार ६०७ महिला रहेका छन् । निर्वाचन आयोगका अनुसार २०८२ साल कात्तिक मसान्तसम्म नाम दर्ता, त्रुटि सच्याउने तथा ठाउँसारी (स्थानान्तरण) गर्न सकिने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया