काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार रहस्यमय रूपमा गठन भएको आरोप लगाउँदै त्यसलाई खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै विप्लवले कार्की नेतृत्वको सरकारको पछाडि षड्यन्त्र लुकेको दाबी गरे । उनले भने, ‘सरकारमा कार्कीसहितका मन्त्रीहरू कसरी आए रु रहस्यमय तरिकाले सरकार गठन गरियो । यही षड्यन्त्रकारी प्रक्रिया देशलाई ध्वस्त पार्ने दिशामा गएको छ ।’
महासचिव विप्लवले जेनजी विद्रोहले नेपालमा संसदीय व्यवस्था पूर्णरूपमा असफल भएको पुष्टि गरेको पनि उल्लेख गरे । उनका अनुसार संसद विघटन भइसकेको अवस्थामा कुशासन र भ्रष्टाचारमार्फत देश लुट्ने समूहहरू अझै सक्रिय छन्, जसविरुद्ध जनताले प्रतिवाद गर्न तयार हुनुपर्ने बेला आएको छ ।
उनले संविधान संशोधन र पुनर्लेखनको आवश्यकता औँल्याउँदै राज्यको पुनः संरचना जनताको हितअनुसार गर्नुपर्नेमा जोड दिए । ‘अहिले पनि राज्यका संरचनाहरू जनताको हातमा छैनन्, ‘उनले भने, ‘नेताहरूको सम्पत्ति कसरी आर्जन भयो भन्ने छानबिन हुनुपर्छ, प्रशासनिक सुधार गर्नुपर्छ, विश्वविद्यालय स्तरबाट दक्ष प्रशासनिक जनशक्ति तयार पार्नुपर्छ ।’
विप्लवले जेनजी आन्दोलनका मागप्रति राजनीतिक दलहरू गम्भीर नभए देश फेरि अस्थिरतामा फस्न सक्ने चेतावनी पनि दिए । उनका भने,‘जेनजी आन्दोलन सफलताको दिशामा छ, तर यसको माग पूरा नभए यो आन्दोलन जनआन्दोलनभन्दा ठुलो विद्रोहमा परिणत हुन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया