राप्रपामा पनि महाधिवेशनको दबाब, धवलशमशेरले लिङ्देनलाई दिए मंसिर १८ को अल्टिमेटम

लोकपथ
217
Shares

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर जबराले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई मंसिर १८ भन्दा पहिले महाधिवेशनको मिति तोक्न अल्टिमेटम दिएका छन् ।

काठमाडौंमा आइतबार जबरा पक्षधर नेताहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो अल्टिमेटमको जानकारी दिएका हुन् ।

महामन्त्री जबराका अनुसार, वर्तमान कार्यसमितिको चार वर्षको कार्यकाल मंसिर १८ मा सकिँदैछ। त्यसैले सो भन्दा पहिले नै महाधिवेशनको मिति तोक्नु आवश्यक रहेको बताएका छन् । उनले भने, ‘१८ मंसिर भन्दा पहिले हामीले महाधिवेशनको तिथिमिति तोक्नुपर्छ, नत्र हाम्रो समिति अवैध हुन्छ ।’

भेलाले महाधिवेशनको मिति तोक्नुपर्ने, कारबाहीमा परेकाहरूको कारबाही फुकुवा गर्नुपर्ने र पार्टीमा एकता कायम गर्नुपर्ने निर्णय गरेको जनाएको छ । साथै, देशमा भइरहेको वर्तमान परिस्थितिमा पार्टीको एजेन्डालाई अगाडि बढाउनु आवश्यक रहेको पनि भेलामा जोड दिइएको थियो ।

डा.जबराले संघीयता र गणतन्त्र खारेज गरी देशलाई राजसंस्थासहितको हिन्दुराज्य बनाउनुपर्ने मागलाई अगाडि बढाउनुपर्ने विचार राखेका छन् । 

उनले थपे, ‘आजको भेला केन्द्रीय कार्यसमितिका सदस्य र केही महत्त्वपूर्ण नेतासँग अनौपचारिक छलफल हो । भेलाले पार्टीमा एकता कायम गरेर महाधिवेशन र आन्दोलनका क्रममा अघि बढ्ने निष्कर्ष निकालेको छ ।’

पार्टीको नियमित महाधिवेशन आउँदो मंसिरमा सम्पन्न हुनुपर्नेछ । महाधिवेशनको तयारीका लागि केन्द्रीय समितिको बैठक बोलाउन महामन्त्री जबराको समूहले दबाब दिइरहेको छ । पार्टीको केन्द्रीय समितिको बैठक गत माघदेखि बस्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?