जेनजी नेपालद्वारा वायुसेवा निगमको अनियमितता छानबिनको माग

लोकपथ
413
Shares

काठमाडौं । जेनजी नेपालले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) भित्र भएका अनियमितता र भ्रष्टाचार प्रकरणहरूको छानबिन गर्न माग गरेको छ ।

जेनजीले आइतबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटी विस्तृत छानबिनको मागसहित ज्ञापनपत्र बुझाएको हो ।

जेनजी समूहका अन्तरिम वार्ता समितिका सह–संयोजक अर्जुन शाहीले निगममा विगतदेखि नै भइरहेका भ्रष्टाचार र घोटालाहरूको निष्पक्ष छानबिन गरी पारदर्शी र जनमुखी सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन् । उनले वाइडबडी विमान खरिद तथा लाउडा एयर घोटालामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न माग गरे ।

शाहीका अनुसार, अदालतबाट दोषी ठहर भएर पनि कारबाही नभएका व्यक्तिहरूलाई तत्काल कानुनी प्रक्रियामा ल्याउन, करार कर्मचारीको संख्या घटाउन र पारदर्शी प्रणाली लागू गर्न माग गरिएको छ । साथै, दुर्गम र ग्रामीण क्षेत्रमा सस्तो र सहज हवाई सेवा सुनिश्चित गर्नुपर्ने समूहको माग रहेको छ ।

समूहले मागहरू कार्यान्वयन नभए सबै सदस्यहरूले स्वेच्छिक राजीनामा दिई मार्ग प्रशस्त गर्ने चेतावनी पनि दिएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले २०४६ सालपछि निगममा चरम राजनीतिक हस्तक्षेप बढेको स्वीकार गर्दै वाइडबडी र लाउडा एयर प्रकरण त्यही अवधिपछि भएका हुन् भने । उनले जहाज खरिद मात्र नभई बिक्री प्रक्रियामा पनि अनियमितता हुने गरेको जनाउँदै, धेरैजसो जहाजहरू बिक्री अघि नै ग्राउण्डेड गराइने प्रचलन रहेको बताए ।

अधिकारीले निगमभित्रका अनियमितता उजागर गर्न कर्मचारीहरूले समेत सहयोग गरिरहेको जानकारी दिए ।

जेनजी समूहले सबै भ्रष्टाचार प्रकरणको स्वतन्त्र छानबिन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्न र २०४७ सालपछि नियुक्त सबै कर्मचारी तथा पदाधिकारीहरूको सम्पत्ति विवरण २१ दिनभित्र सार्वजनिक गर्न माग गरेको छ । साथै, दुर्गम क्षेत्रका हवाई रुट थप्ने र विद्यार्थी, असहाय तथा गरिब यात्रुका लागि ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने मागसमेत समूहले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?