जेनजी आन्दोलनमा प्रहरीको हतियार लुट्ने र हिरासतबाट भाग्ने व्यक्ति खैरो हेरोइनसहित पक्राउ

लोकपथ
1.7k
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार लुट्ने व्यक्ति खैरो हेरोइनसहित पक्राउ परेका छन् । शनिबार झापाबाट पक्राउ परेका ती व्यक्ति झापाकै दमक–३ का १८ वर्षीय आदित्य लिम्बु रहेको प्रहरीले जनाएको छ । 

शनिबार साँझ ५ बजे दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर सेक्टर ए ३ हट नम्बर ३५३ मा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले छापा हानेर उनीसहितलाई पक्राउ गरेको हो । घरको कोठा तलासी गर्दा चस्माको खोलभित्र लुकाई छिपाई राखिएको अवस्थामा खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।

डिजिटल तराजुमा नापजाँच गर्दा उक्त पदार्थको तौल ७ ग्राम ८ सय मिलिग्राम रहेको पाइएको हो ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनले इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार खोसेका  थिए । उनले हतियार खोसेको भिडियोसमेत बनाएका थिए । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले आदित्यसहित आठ जनाको गिरोहलाई खैरो हेरोइनसहित पक्राउ गरिएको बताए । 

आदित्यसहित पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल पनि रहेका छन् । उनी गत भदौ २४ गते उर्लाबारी प्रहरी हिरासतबाट भागी फरार रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अन्य व्यक्तिहरूमा साजन थापा (२७), पविन विश्वकर्मा (१९), दीपेश तामाङ (३२), सनम राई (३२),सुचन दर्जी (२५) र विजय माझी (२५) रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?