काठमाडौं । दसैँ हिन्दु धर्मावलम्बी नेपालीको सबैभन्दा ठूलो चाड हो । दसैँ भन्ने बित्तिकै सबैको दिमागमा आउने दुई वटा कुरा हुन्, खानपान अनि मनोरञ्जन । दसैँमा अत्यधिक मासु खाने र केहीले अत्यधिक मदिरासमेत सेवन गर्ने गर्दछन् । तर यही दसैँमा स्वास्थ्यमा ख्याल गरिएन भने स्वास्थ्य नै बिग्रन भने सक्छ । किनभने दसैँको खानपानले धेरैलाई बिरामी बनाउने र स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरेको छ ।
चाडबाड आयो कि सके जति खाने चलन नेपाली समाजमा छ । चाडपर्वमा होस् वा अन्य समयमा आफ्नो स्वास्थ्यलाई अनुकूल हुने उपयुक्त भोजन प्रणाली अपनाउनुपर्छ । यति बेला लामो बिदा हुने भएकाले फूलपातीदेखि पूर्णिमासम्म सबैका घरमा मासु अनिवार्य जस्तै हुन्छ ।

दसैँको रमाइलो र खानपानमा हामी आफ्नो स्वास्थ्यलाई भने बिर्सने गर्छौँ । त्यसै कारणले पनि दसैँको बेलामा धेरै जसो मानिसहरूमा पेट सम्बन्धी समस्याहरू देखा पर्ने गर्छ । जस्तो पेट दुख्ने, झाडापखाला लाग्ने, छाती पोल्ने, बान्ता आउने र अपच हुने समस्याहरूले सताउने गर्छ ।
दसैँमा किन देखिन्छ पेट सम्बन्धी समस्या ?
हामीले नियमित रूपमा खाने गरेको खाना खाँदा हाम्रो पेटमा यस्ता समस्याहरू आउने गर्दैन । तर दसैँमा हाम्रो खानामा पनि परिवर्तन आउँछ, त्यसैले हाम्रो पेटमा पनि समस्या आउने गर्छ । हामीले दसैँमा मासुका धेरै परिकार, चिल्लो, पिरो, अमिलो, गुलियो सबै किसिमको खाने कुरा धेरै मात्रामा खाने गर्छौँ जसले गर्दा हाम्रो पेटमा पनि समस्या आउने गर्छ । यसलाई हामी एक प्रकारको ग्यास्ट्राइटिस भन्छौँ । ग्यास्ट्राइटिस दुई किसिमको हुन्छ । एक्युट ग्यास्ट्राइटिस र क्रोनिक ग्यास्ट्राइटिस ।
एक्युट ग्यास्ट्राइटिस
एक्युट ग्यास्ट्राइटिस भनेको हामीले खाएको खानेकुराहरु बाट बढ्न ग्यास्ट्राइटिस हो । धेरै जथाभाबी खानेकुरा खाएर अथवा जथाभाबी औषधिको सेवनबाट हुने ग्यास्ट्राइटिसलाई एक्युट ग्यास्ट्राइटिस भनिन्छ ।
एक्युट ग्यास्ट्राइटिस अचानक हुने गर्छ । जस्तो हिजोसम्म केही नभएको पेट आज भोज भतेरमा गएर खाना खाएर आउँदा एक्कासि दुख्ने गर्छ । जाँड रक्सीको सेवन गर्दा, धूम्रपान गर्दा र बढी औषधिहरूको सेवन गरेपछि हाम्रो पेटमा तुरुन्तै असरहरू देखाउन थाल्छ । यो नै एक्युट ग्यास्ट्राइटिस हो ।
यो ग्यास्ट्राइटिस हुँदा पेट दुख्ने, बान्ता आउने, पेट गाडिने, वाकवाक लाग्ने अनि कसै कसैले भने रगत पनि बान्ता गर्ने गर्छन् । दसैँमा प्राय मानिसलाई हुने ग्यास्ट्राइटिस एक्युट ग्यास्ट्राइटिस हो ।
दसैँमा हामी पेटलाई चाहिने भन्दा धेरै खानेकुरा खान्छौँ । मासुका विभिन्न प्रकारको पक्कु बनाएर, फ्राई गरेर, पोलेर, बार्बिक्यु गरेर खान्छौँ । यी मासुका परिकार बनाउन हामीले विभिन्न किसिमका मरमसला र तेलको प्रयोग गरेका हुन्छौँ । मासुसँगै हामीले ती मसला र चिल्लो पनि त्यति नै मात्रामा खान्छौँ । जसले गर्दा हाम्रो स्वास्थ्यमा एक्युट ग्यास्ट्राइटिस हुने गर्छ ।
यसमा पनि पोलेको मासुले हामीलाई धेरै खराब गर्ने गर्छ । किन भने पोलेको मासुमा धुवाँ निस्केको हुन्छ । त्यही धुवाँले नै हाम्रो स्वास्थ्यलाई निकै नराम्रो असर गर्छ । पोलेको मासु धेरै खानेलाई पछि क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
यस्तो ग्यास्ट्राइटिसमा एक दुई दिन पेटलाई आराम दियो भने ठिक हुन्छ । सादा खाना ब्यालेन्स मिलाएर खाएमा बिस्तारै ठिक हुँदै जान्छ । अलि बढी भएमा एउटा ग्यास्ट्रिको र्आषधि खायो भने पनि ५-७ दिनमा आफै सन्चो हुन्छ ।
दसैँमा एक्युट ग्यास्ट्राइटिस हुने अर्को कारण भनेको जथाभाबी खाना सँगै कोल्ड ड्रिङक्स, मादक पदार्थको सेवन पनि हो । मासुसँग हामी यी पेय पदार्थको पनि त्यति कै मात्रामा सेवन गर्ने गर्छौँ, जसले ग्यास्ट्राइटिस बढाउने गर्छ ।
अनिद्रा र रातको खाना
दसैँको समयमा मानिसहरू अनिदो पनि बस्ने हुन्छन् । सबै छुट्टीमा हुन्छन् रमाइलो गर्छन् । जुवा तास खेलेर बस्ने, समयमा नसुत्ने आदि गर्छन् । त्यसरी अबेलासम्म बस्ने गर्दा निद्रा नपुग्ने हुँदा ग्यास्ट्रिक हुने गर्छ । राति ढिलासम्म नसुतेपछि हामीलाई खाने कुराहरू खाइरहन मन लाग्छ र बढी खाना खाने समेत गरिन्छ । त्यसरी खाएको खान नपच्ने हुन्छ ।
राति ८-९ बजे पछिको खाना त एकदम अपच हुन्छ । हाम्रो शरीरले पचाउन सक्दैन । खाएर तुरुन्त सुत्ने अथवा राति अबेलासम्म बस्ने गर्दा पनि खाना नपच्ने हुँदा ग्यास्ट्राइटिस बनाउँछ ।
व्रत र क्रोनिक ग्यास्ट्राइटिस
नेपालको विभिन्न जिल्लाहरूमा नवरात्रिमा व्रत बस्ने चलन हुन्छ । व्रत बस्दा एक छाक मात्र खाने गरिन्छ, जसले गर्दा पनि ग्यास्ट्राइटिस हुन्छ ।
शरीरमा ग्यास बनाउने तत्त्व भनेको हाइड्रोक्लोरिक एसिड हो । जब हाम्रो पेट खाली हुन्छ, पेटमा हाइड्रोक्लोरिक एसिड बन्न थाल्छ । त्यो पेटमा बनेको हाइड्रोक्लोरिक एसिडले खाने कुरा पचाउन नपाएपछि त्यसले आफ्नै पेटमा वा शरीरमा भएको मासुलाई नै पचाउन थाल्छ ।

पेटमा उत्पादन भएको एसिडको काम भनेको हामीले खाएको खाने कुराहरू सानो टुक्रा बनाउने, अम्लीय बनाउने र पचाउने हो । त्यसले टुक्रा टुक्रा बनाएर पेटमा ४–५ घण्टा रहेपछि त्यो खाने कुरा पाचन भएर हाम्रो सानो आन्द्रामा जान्छ । तर खाने कुराहरू पचाउन नपाएपछि त्यसले हाम्रो पेटकै मासुलाई अर्थात् आमाशयलाई नै पचाइदिन्छ ।
त्यस्तो किसिमको ग्यास्ट्राइटिसलाई क्रोनिक ग्यास्ट्राइटिस भनिन्छ र क्रोनिक ग्यास्ट्राइटिस हुँदा अल्सर हुने सम्भावना बढी हुन्छ । यो क्रोनिक ग्यास्ट्राइटिस दीर्घकालीन ग्यास्ट्राइटिस हो । यसलाई हामीले समयमा नै उपचार गर्नुपर्छ ।
जंक फुडको असर
दसैँमा मासु मात्रै होइन, जंक फुड खाने मानिसहरूको सङ्ख्या पनि उत्तिकै बढी हुन्छ । पेटमा समस्या ल्याउने अर्को तत्त्व भनेको जंक फुड पनि हो । बाहिरको जंक फुड जस्तै चाउचाउ, चिज बल, चिप्स, बर्गर आदि खाँदा पनि ग्यास्ट्रिकको समस्या बढाउँछ । यी खाने कुराहरूमा मिठो बनाउन विभिन्न केमिकलको प्रयोग गरिएको हुन्छ । पेटमा ग्यास्ट्रिक बढाउन यी खानेकुराहरू सबैभन्दा घातक हुन्छन् जसले अत्यधिक ग्यास्ट्राइटिस बनाउँछ ।
यस्तो किसिमको केमिकलहरू हालेको खानेकुराहरूले ग्यास्ट्राइटिस मात्र नभएर ओबेसिटी अर्थात् अत्यधिक मोटोपनको समस्या पनि बढाइरहेको छ । नेपालमा अहिले बढी त्यस्ता खानेकुराहरू खाएर बच्चाहरूमा मोटोपनाको समस्या धेरै देखिएको छ । बच्चाहरू त्यस्तो खानेकुराहरू धेरै खाने, बाहिर ननिस्कने, टिभी मोबाइल आदि मात्रै हेरेर बस्ने गर्दा एउटा अस्वस्थ जीवन पनि आइरहेको छ । यसले बालबालिकामा समेत ग्यास्ट्राइटिसको समस्या बढाइरहेको छ ।
तनाव र चिन्ता
तनाव र चिन्ताले पनि ग्यास्ट्राइटिस बढाउने गर्छ । आयुर्वेदमा एउटा भनाई छ, हरि, ओरी, एन्ड करी । अर्थात् सधैँ हतारमा हुने (Hurry), खानपानको उचित समय नहुने र जे पायो त्यही खाने व्यक्तिमा ग्यास्ट्रिक बढाउने गर्छ ।
ओरी (Worry) अर्थात् चिन्ता गरिरहने व्यक्तिमा पनि ग्यास्ट्रिकको समस्या बढ्ने गरेको हुन्छ । कुनै पनि काममा म सफल हुन्छु कि हुँदिन, म यो काम गर्न सक्छु कि सक्दिन भनेर चिन्ता गरिरहने व्यक्तिमा पनि ग्यास्ट्राइटिस बढ्ने गर्छ ।
अर्को करी (Curry) भन्नाले पिरो अमिलो तरकारी वा पदार्थहरू खाँदा हुने ग्यास्ट्रिकको समस्या बढाउने गर्छ ।
अटो इम्युन ग्यास्ट्राइटिस
यो ग्यास्ट्रिक आफ्नो शरीरबाट आफै हुने ग्यास्ट्रिक हो । आफ्नो शरीरको एन्टीबडीले आफ्नै शरीरलाई घात गर्ने ग्यास्ट्राइटिस अटो इम्युन ग्यास्ट्राइटिस हो ।
आफ्नो शरीरको एन्टीबडीले आफ्नो शरीर भित्रको आमाशयको झिल्लीलाई बिगार्ने गर्छ । त्यसलाई अटो इम्युन ग्यास्ट्राइटिस भनिन्छ ।
एच पाइलोरीबाट हुने ग्यास्ट्राइटिस र अटो इम्युन ग्यास्ट्राइटिसबाट हुने ग्यास्ट्राइटिसले पछि गएर अल्सर बनाउने र क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
बजारका मिठाई
दसैँमा हामी मिठाईहरू पनि खाने गर्छौँ । जसले पनि ग्यास्ट्राइटिस बढाउन सक्छ । मिठाई खानै नहुने होइन, आफूले खान सकिन्छ भने २-३ वटा खान मिल्छ । यदि आफ्नो शरीर ठिक छ, मधुमेह जस्ता केही रोग लागेको छैन भने र मिठाइ पनि शुद्ध छ भने मात्र खान मिल्छ ।
किनभने आजभोलि बजारमा केमिकल वा अखाद्य पदार्थ मिसाएको मिठाइ पाइने गरेको छ । त्यसले ग्यास्ट्रिक लगायतका पेटका समस्या निम्त्याएको धेरै उदाहरणहरू छन् ।
मासुसँग दूध दहीको सेवन
हामीले दसैँमा मासु खाँदा दूध खानु राम्रो हुँदैन । किनभने मासु र दूध दुबैमा अम्लीय पदार्थ अर्थात् एसिडिक कम्पोनेन्ट प्राप्त गर्छौँ । दुवै अम्लीय पदार्थ भएकाले अपच हुने हुन्छ । तर दहीमा भने प्रोबायोटिक अर्थात् पेटलाई फाइदा गर्ने ब्याक्टेरिया हुने भएकाले यो भने खान मिल्छ । मासु खाएर दही खानु स्वास्थ्यको लागि राम्रो नै मानिन्छ । किन भने दहीले पचाउने काम गर्छ ।
खानपान र जीवनशैली
दसैँमा मात्र होइन अरू बेलामा पनि हामीले औषधिको सेवन भन्दा पनि आफ्नो लाइफ स्टाइलमा नै परिवर्तन गर्नुपर्छ । भुटेको, तारेको, चिल्लो, पिरो, अमिलो सकेसम्म कम गर्ने । आफूलाई के खाँदा गाह्रो हुन्छ याद गर्ने । पिरो खाएर भयो कि अचार खाएर भयो कि मासुले नै भयो याद गरेर जसले असर गर्छ ती खानेकुराहरू खान कम गर्नुपर्छ ।
कसैलाई मासु नपच्ने हुन्छ, कसैलाई दूध नपच्ने हुन्छ; त्यसैले आफूलाई पचेन भने ती खानेकुराहरू छाडिदिनुपर्छ । त्यस्ता खाने कुराहरू छोडेर अलिकति पेटलाई आराम हुने किसिमको खानेकुराहरू खाने गर्नुपर्छ । पेटलाई बिसन्चो भएमा हल्का खाने कुराहरू जस्तै जाउलो, खिचडी, साग, उसिनेको खाने कुराहरू खाने गर्नुपर्छ । पेटलाई बिसन्चो भएको समयमा पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ ।
खाना पचाउने वा ग्यास्ट्राइटिस हुनबाट बचाउन पनि दही सबैभन्दा राम्रो खानेकुरा हो । दिनमा दुई तीन पटक खानासँग दही खाने, आहार र दिनचर्यामा नै परिवर्तन ल्याउन सकियो भने ग्यास्ट्राइटिसको समस्या आउँदैन । राति समयमा नै सुत्ने, बिहान समयमा नै उठेर व्यायामहरू गर्ने र बेलुका ३०–४५ हिँड्ने गर्दा पनि ग्यास्ट्रिकको समस्या कम हुन्छ ।
(लोकपथकर्मी अनिषा खत्रीसँगको कुराकानीमा आधारित ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया