काठमाडौं । माहोल दसैँको छ, सँगै छ राजनीतिक उथलपुथल र नयाँ ढंगले मुलुक उठ्ने अपेक्षा पनि । यतिबेला राजनीतिक दलका शुभकामना आदानप्रदान कार्यक्रम हुने मौसम चलिरहेको हुन्थ्यो यदि जेनजी आन्दोलन र त्यसको असर नपरेको भए । एकातिर देश रमझममा छ, अर्कोतिर शहीद, घाइते परिवार र व्यक्तिगत सम्पत्ति तोडफोड हुनेहरूको पीडा पनि उस्तै छ ।
एकातिरको पीडा र अर्कोतिरको चाडपर्वको माहौलको खुसी र दुःखको संयोग एकसाथ छ । जेनजी आन्दोलनले ल्याएको नयाँ राजनीतिक कोर्सबारे केही आशा, केही शंका र केही दुःखद् पक्षहरू हामीसँग छ । स्वभावैले नेपालीहरू अलि बढी आन्तरिक राजनीतिमा बढी छलफल र बहस गर्छन् ।
शहरबाट गाउँगाउँ फर्किनेहरूले चोक चौतारोमा बसेर गर्ने कुराकानीहरू फेरिएका छन् । अझ दलीय आबद्धताअनुसार पक्षपोषण र दोषारोपण हुने गरेकामा यसपालि भने राजनीतिक शुद्धीकरण र दलहरूको नियतमाथि बढी बहस हुने देखिन्छ ।
वर्षौँदेखिको भ्रष्टाचार, बेथिति र कुशासनको भुमरीले आजित भएका आम नेपालीमा जेनजी आन्दोलन, युवाहरूको बलिदानले ल्याएको परिवर्तनले केही हुन्छ कि भन्ने आशा भने बाँकी छ ।
००७ सालको परिवर्तन, ०४६ सालको आन्दोलन र परिवर्तन अनि ०६२–०६३ को परिवर्तनपछि देश नयाँ कोर्समा अघि बढ्यो । लामो संक्रमणपछि ०७२ सालमा नयाँ संविधान बनेपछि देश झनै नयाँ कोर्समा पुग्यो । यसबिच नयाँ व्यवस्था ल्याउने र पुरानै व्यवस्था फर्काउन खोज्नेहरूको वादविवाद चलिरहँदा पुनः नयाँ राजनीतिक परिवर्तनको आन्दोलन जन्मिया ।, त्यसले ल्याएको उभार कहाँसम्म पुग्छ त्यो अहिले नै अनुमान गर्न सकिने अवस्था होइन । पछिल्ला वर्षहरूमा दक्षिण एसियामा देखिएको राजनीतिक परिवर्तनको लहरले नेपालमा खास गरी जेनजी पुस्ताको आन्दोलन बन्दा देश कुन बाटोमा जानुपर्ने थियो, कुन बाटोमा गयो भन्ने कुराको भेद स्पष्टसँग छुट्याएको छ ।
८ दशकभन्दा अघिदेखि क्रान्ति र परिवर्तनका लागि हजारौँको ज्यान गएको छ, लाखौँ अंगभंग हुँदा हजारौँ बेपत्ता भए । तिनको हिसाबकिताब राज्यबाट नागरिकहरूले गरिरहे । पछिल्ला ०६२-०६३ को आन्दोलनको घाउ सेलाउन पाएको छैन । त्यो परिवर्तन र परिवर्तनका लागि आहुति दिनेहरू, घाइते अनि घाइतेका परिवार मात्र होइन आम नागरिकले देशको विकास, समृद्धि, सुशासन र अमनचयनमार्फत् त्यसको प्रतिफल खोजिरहेका थिए, अझै छन् । ………
भदौ २३ को स्वतःस्फूर्त जेनजी आन्दोलन, त्यसै दिन राज्यको चरम दमन र त्यसपछि यो अवस्थासम्म आइपुग्न ७४–७५ जनाको ज्यानको बलिदानी र घाइतेहरूको छटपटीको बलमा वर्तमान अन्तरिम सरकार गठन भयो । सानो आकारको मन्त्रिमण्डल बनेको छ, त्यसले काम गर्न थालेको छ । खास गरी ६ महिनाभित्र निर्वाचन गराउनुपर्ने मुख्य म्यान्डेट पाएको सरकारको ध्यान विशेषगरी त्यतैतिर केन्द्रित हुनुपर्ने देखिन्छ । त्यो भन्दा मुख्य देशको दैनिक क्रियाकलापहरू सञ्चालन, नागरिकलाई सहज सेवा पुर्याउने काम यो सरकारको मुख्य जिम्मेवारी देखिन्छ । तर वर्तमान सरकार प्रश्नको घेराभन्दा माथि छैन र छैन यसअघिको सरकार जस्तो बरालिने र अरूमा दोषारोपण गरेर आफू पानीमाथिको ओभानो बन्ने छुट र सुविधा ।
जेनजी आन्दोलनका क्रममा देशको सरकारी सम्पत्ति जल्यो, नेताहरूको घर जल्यो, पार्टी कार्यालयहरू ध्वस्त भए, केही नेताहरूमाथि निर्मम प्रहार भयो, त्यो भन्दा दुःखद् कलिला जेनजीहरुको ज्यान गयो । ज्यान गएकोदेखि देशको सरकारी सम्पत्ति, अरूको निजी सम्पत्ति मात्र होइन व्यावसायिक धरोहरहरू खण्डहर बने । यी र यस्ता विषयलाई सरकारले कसरी लिनेछ र आन्दोलनको नाममा भएका अराजकताहरूलाई वर्तमान सरकारले कसरी ‘ट्याकल’ गर्छ भन्ने त्यो हेर्न बाँकी छ । तर नयाँ राजनीतिक समीकरणकाबिच आएको चाडपर्वमा नेपालीहरूमा आगामी दिनको लागि नयाँ कौतुहलता भने रहनेछ ।
बलिदानी र त्यागबाट आएको परिवर्तन मुठ्ठीभरका मान्छेहरूले कमाइ खाने भाँडो बनाउने यसअघिको आम प्रवृत्ति पुनः हाबी नहोस् भन्ने आम मानिसको चाह यो सरकारले बुझ्ने मात्र होइन महसुस गरेर एक्सनमा काम गर्नुपर्ने देखिन्छ । अझ देशमा रोजगारी नै नभएर वा नयाँ अवसरको खोजीमा देश छाड्ने र देश छाड्ने बाध्यतामा रहेका ठूलो युवापंक्तिको कुरा सुन्नुपर्ने अभिभारा यो सरकारसँग छ ।
८ दशकभन्दा अघिदेखि क्रान्ति र परिवर्तनका लागि हजारौँको ज्यान गएको छ, लाखौँ अंगभंग हुँदा हजारौँ बेपत्ता भए । तीनको हिसाबकिताब राज्यबाट नागरिकहरूले गरिरहे । पछिल्ला ०६२–०६३ को आन्दोलनको घाउ सेलाउन पाएको छैन । त्यो परिवर्तन र परिवर्तनका लागि आहुति दिनेहरू, घाइते अनि घाइतेका परिवार मात्र होइन आम नागरिकले देशको विकास, समृद्धि, सुशासन र अमनचयनमार्फत् त्यसको प्रतिफल खोजिरहेका थिए, अझै छन् । वर्षौँदेखि राजनीतिले झुक्क्याएको मुलुक र झुक्क्याइएका नेपालीहरूको आक्रोशसमेत जेनजी आन्दोलनमा पोखिन पुग्दा देशले नयाँ बाटो तय गरेको छ । यसका आयाम र उपलब्धिहरू भोलिका दिनमा देखिँदै जालान् । त्यसका लागि भोलिका दिन कस्तो बनाउने भन्ने विषय वर्तमान सरकारको नियत र काम गराइमा भर पर्छ ।
दसैँलगायत चाडपर्वको मुखैमा आफ्ना सन्तान गुमाएका ती आमाहरूले अब आफ्ना सन्तानलाई कहिल्यै सुमसुम्याउन पाउने छैनन् । तर ती आफ्ना सन्तानहरूको रगतले लेखिएको इतिहास कसैका लागि सत्ता उक्लिने भर्याङ नबनोस् भन्ने आम आमाहरूको अपेक्षा छ । यसअघि जस्तै इतिहासको ब्याज खाने प्रवृत्तिहरूको पुनरावृत्ति भइरह्यो भने आगामी दिन नेपालीका लागि थप पीडादायी बन्नेछन् । तर नेतृत्वले आम अपेक्षा पूरा गर्दै भोलिका दिनको लागि राम्रो मार्ग कोर्ने बाटो खोज्ने हो भने पीडामा मनाइएको यो दसैँ इतिहासमा दर्ज हुनेछ । ती शहीदका आमाहरूले देशका लागि आफ्नो सन्तानले बगाएको रगत र देशका लागि दिएको ज्यानको आहुतिलाई सम्झिएर शोकलाई शक्तिमा बदल्ने आँट भरिनेछ । त्यही नै शहीदका लागि सच्चा सम्मान हुनेछ, हामी समृद्ध नेपाली हुनेछौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया