इलामको चियाबारे सरकारले देखाएन चासो, भोलिबाट उद्योग बन्द

लोकपथ
0
Shares

काठमाडौं । इलामका चिया व्यवसायीहरुले असार १ गते (भोलि) बाट इलामका चिया उद्योग बन्दको घोषणा गरेका छन् ।

नेपालको चियाका लागि ठूलो बजार रहेको भारतमा चिया निर्यातमा अवरोध सिर्जना भएपछि उद्योग नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

सूर्योदय ओर्थोडक्स टी पडक्सन एशोसियशन नेपालले विज्ञप्ति जारी गर्दै भारतले विभिन्न बहाना देखाउँदै अवरोध सिर्जना गरेपछि चिया उत्पादनमा रोक लगाउने घोषणा गरेका हुन् ।

‘जटिल गुणस्तर जाँचका बहानामा भारतीय बजारमा पुगेको करिब २ लाख किलो भन्दा बढी तयारी चिया भारतीय गोदाममा नै रोकिएको अवस्था छ । यता नेपालका उद्योगहरुमा १० लाख किलो भन्दा बढी चिया थन्किएर बसेको छ । भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको चियाको नमुना रिपोर्ट महिनौँ दिनसम्म पनि दिँदैन । यदी रिपोर्ट आउँदा गुणस्तरहिन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने अव्यवहारिक नियमहरु थपिएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण उद्योगहरु २०८३ असार १ गतेदेखि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जानकारी गराउँदछौँ ।’

किसानहरुले केही समयदेखि चिया निर्यातमा समस्या भएकोबारे सरकारको ध्यानाकर्षण गराउँदै आइरहेका छन् । तर सरकारले त्यसमा चासो नदेखाउँदा बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?