‘कुमारी’ घोषणामा गाइएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल

लोकपथ
812
Shares

काठमाडौं । हाल छायाङ्कनमा रहेको नेपाली चलचित्र ‘कुमारी’ को घोषणा कार्यक्रममा प्रत्यक्ष प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा धमाका मच्चाइरहेको छ ।

गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड केहर एन्ड द लुङाले प्रस्तुत गरेको यो गीत टिकटक र युट्युबमा एकैपटक लोकप्रिय बन्दै गएको छ । लाइभ भर्सनमै चर्चित बनेको गीतमा हालसम्म डेढ लाखभन्दा बढी टिकटक भिडियो बनेका छन् भने युट्युबमा ५ लाख ५० हजारभन्दा बढी भ्युज भइसकेका छन् । विशेषगरी जेनजी पुस्ताका युवायुवतीहरूले यसलाई उत्साहपूर्वक प्रयोग गरिरहेका छन् ।

निर्माण टिमका अनुसार, गीतको स्टुडियो रेकर्ड भर्सन चलचित्र रिलिजसँगै मात्र सार्वजनिक हुनेछ । निर्देशक दिनेश राउतले हालसम्म चलचित्रको करिब ५० प्रतिशत छायाङ्कन सम्पन्न भएको जानकारी दिँदै, ‘गीतको अप्रत्याशित लोकप्रियताले टिमलाई अझ आत्मविश्वास दिलाएको छ, ‘भनेका छन् ।

यसअघि काठमाडौंको टुँडिखेलमा आयोजित भव्य कार्यक्रममा चलचित्र घोषणा गरिएको थियो । सो अवसरमा मुख्य कलाकारका रूपमा अबिषेक खड्का र आकृति राजभण्डारीलाई प्रस्तुत गरिएको थियो । दुवै कलाकारले यसै चलचित्रमार्फत मुख्य भूमिकामा डेब्यु गर्दैछन् ।

चलचित्रमा उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायत कलाकारको अभिनय रहनेछ। चलचित्रको निर्माण बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमसँग सहकार्यमा गरिरहेको छ भने निर्माता महेन्द्र अधिकारी हुन् । स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिको रहेको छ ।

चलचित्रमा चार वटा गीत रहने छन् । सबै गीतमा स्वर गायक लिम्बुले नै दिनेछन् भने सङ्गीतमा लिम्बुसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटीको योगदान रहनेछ । गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका हुन् ।

निर्माण टिमले ‘कुमारी’ यसै वर्ष रिलिज गर्ने योजना सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?