काठमाडौं । नेपाल पर्यटन बोर्डले जेनजी आन्दोलनका कारण देशको पर्यटन क्षेत्रमा मनोबलमा कमी आएको जनाएको छ। बोर्डका अनुसार सो आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाले पर्यटक आगमनमा प्रत्यक्ष असर पारेको छ।
विश्व पर्यटन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गत वर्षको तुलनामा यस वर्ष पर्यटक आगमनमा ४५ प्रतिशतले कमी आएको तथ्यांक सार्वजनिक गरे। उनले जानकारी दिएअनुसार गत वर्ष असोजको पहिलो हप्तामा प्रतिदिन करिब ३३–३४ सय पर्यटक आगमन भइरहेका थिए भने जेनजी आन्दोलनको समयमा उक्त संख्या घटेर करिब १६ सय पुगेको थियो ।
जोशीले भने, ‘यो भदौ २३ र २४ गते जुन आन्दोलन भयो, अलिकति आगजनीका कारण पर्यटक आगमनमा कमी आएको छ। त्यसले सिजन सुरु हुँदै गर्दा हामीलाई अलिकति मनोबल खस्काएको छ। पछिल्लो हप्तामा आगमन करिब २३ सय पुगेको थियो भने अहिले २ हजार ९ सय भिजिटर्स प्रतिदिन रहेको छ। यदि थप असहज अवस्था आउँदैन भने पर्यटन क्षेत्र फेरी रिकभर हुँदैछ ।
उनले थपे, ‘नेपालमा आउने पर्यटकलाई सही र समयमै सूचना प्रदान गर्न बोर्डले प्रभावकारी सूचना प्रणाली लागू गरेको छ। सरकारी र निजी क्षेत्रको संयुक्त पहलले यसलाई अझ सघन रूपमा अघि बढाउने काम भइरहेको छ ।’
पर्यटन बोर्डले अब पर्यटकलाई दिगो रुपमा नेपाल भित्र्याउने र देशको पर्यटन क्षेत्रलाई पुनः सुदृढ बनाउने कार्यमा केन्द्रित रहने पनि जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया