पार्टी नेतृत्व छाड्न प्रचण्डलाई नारायणकाजीको सुझाव, महाधिवेशन निर्वाचनपछि मात्रै गर्दा उचित

लोकपथ
623
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजी विद्रोहात्मक आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमलाई लिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुने धारणा अघि सारेका छन् । 

माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा पूरक प्रस्ताव राख्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष प्रचण्डको राजीनामा माग गरेका हुन् । 

पूरक प्रस्तावको ‘प्रमुख कार्यकारी नेतृत्वबारे’ खण्डमा उनले भनेका छन्, ‘पार्टी महाधिवेशन यसरी उपयुक्त समयमा गर्ने तयारी अनुरूप अगाडि बढ्दै गर्दा पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिने कार्यको थालनी भने अहिले नै गरिनुपर्छ । अहिले जेनजी विद्रोहात्मक आन्दोलनले दिएको सन्देश, पारेको प्रभाव र निर्वाचनमा गर्नुपर्ने अपिलको सन्दर्भमा अध्यक्ष कमरेडले अध्यक्ष पदको कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुन्छ ।’

उनले महाधिवेशनबाट त्यस प्रकारको निर्णय लिने हो भने पनि अहिले संस्थागत प्रणालीअन्तर्गत दोस्रो प्रकृतिको नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनु पर्ने धारणा पनि राखेका छन् । श्रेष्ठ अहिले प्रचण्डपछिको वरीयतामा छन् । 

पूरक प्रस्तावमा उनले भनेका छन्, ‘यो पार्टी पुनर्गठनको सन्देश दिन र जनतालाई अपिल गर्न सकारात्मक कदम हुनेछ । अध्यक्ष कमरेड प्रचण्डले नै यो पहल लिँदा सामान्यतः नेपाली मुद्दाको राजनीतिमा र विशेषतः नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँको ऐतिहासिक अगुवाइको रूपमा स्थापित हुनेछ ।’

‘यहाँ के कुरामा पनि स्पष्ट हुन आवश्यक छ भने हाम्रो पार्टीको आजको यथार्थको ठोस सन्दर्भमा अध्यक्ष कमरेड स्वयमको वास्तविक सहमतिमा मात्रै यो प्रक्रिया व्यवहारतः कार्यान्वयन हुन सक्नेछ । यस सन्दर्भमा अर्को एक पक्षका बारेमा पनि स्पष्टताका आवश्यकता छ । अध्यक्ष कमरेडको कार्यकारी नेतृत्वको जिम्मेवारीबाट बिदाइ उहाँप्रतिको सम्मानलाई कायम राख्दै र उहाँको निरन्तरताको वैचारिक, निर्देशनात्मक र अभिभावकीय भूमिकालाई स्थापित गर्ने गरिनुपर्दछ । नेपालको आजको ऐतिहासिक राजनीतिक परिवर्तनको निम्ति जसरी जनयुद्धको मुख्य भूमिका रहेको यथार्थलाई सबैले स्वीकार गर्नुपर्ने हुन्छ, उनले भनेका छन् । 

उनले व्यक्ति नेताहरूको हकमा अध्यक्ष प्रचण्डको मुख्य उदाहरण रहेको तथ्यलाई सबैले मान्नुपर्ने पनि उल्लेख गरेका छन् । ‘वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भनेका छन्, ‘यो ऐतिहासिक सत्यलाई स्थापित गर्दै हामीले अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वले पुर्‍याएको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्दछ । प्रतिक्रियावादी कोणबाट गरिने आक्रमणबाट प्रतिरक्षा गर्नुपर्दछ । तर हाम्रो खुला समाज एवं बहुदलीय प्रतिस्पर्धा प्रणालीको परिप्रेक्ष्यमा तीन दशक एउटै व्यक्ति प्रमुख नेतृत्वमा रहिरहेको विषय नकारात्मक चर्चाको विषय बनिरहेको सन्दर्भ र अहिलेको जेनजी आन्दोलनपछि प्रमुख पार्टीहरूको प्रमुख नेताहरूको सन्दर्भमा जनमानसमा परेको वा पारिएको परसेप्सनको परिप्रेक्ष्यमा जनतामा अपिलसहित पार्टी निर्माणको प्रक्रिया अगाडि बढ्न आजको सन्दर्भमा त्यसरी नयाँ ढंगले अगाडि बढ्नु पनि त्यतिकै आवश्यक छ ।’

महाधिवेशन कहिले ?

पूरक प्रतिवेदनमा उनले महाधिवेशनबारे भनेका छन्, ‘हामीले महाधिवेशनको आयोजना गर्दा एकातिर देशको तात्कालिक परिस्थिति र कार्यभारलाई र साथसाथै महाधिवेशनको उद्देश्य तथा न्यूनतम पूर्वशर्तको पालनामा ध्यान दिनुपर्छ । अहिले पार्टीको मुख्य ध्यान घोषित मितिमा आम निर्वाचन सम्पन्न गर्ने बिन्दुमा त्यसलाई पुर्‍याउन र निर्वाचनको तयारीमा केन्द्रित गर्नुपर्दछ । निर्वाचन निर्धारित मितिमा हुन नसकेमा उत्पन्न हुने सङ्कटबाट देशलाई बचाउन र निर्वाचनमा हाम्रो राम्रो परिणाम ल्याउन हरसम्भव प्रयत्न गर्न त्यसैमा जोड दिनुपर्दछ । यस कोणबाट हेर्दा निर्वाचन मिति अघि मङ्सिरमा नै विशेष महाधिवेशन सम्भव र उपयुक्त हुँदैन । मलाई लाग्छ अहिले मङ्सिर भन्नु भएन कि जस्तो लाग्यो अध्यक्ष कमरेडले । त्यो भएपछि त अलि छलफलको नयाँ ठाउँ भइहाल्यो । यस कोणबाट हेर्दा निर्वाचनबाट हाम्रो पार्टीको वैचारिक सांस्कृतिक स्तरको न्यूनताको परिप्रेक्ष्यमा पार्टीको विभिन्न स्तरको सम्मेलन र अधिवेशनमा हुन सक्ने अस्वस्थ प्रतिस्पर्धा अर्थात् गुटबन्दीले पार्टीलाई आसन्न चुनावमा एकताबद्ध भएर तुरुन्तै प्रस्तुत हुनेमा गम्भीर समस्या उत्पन्न गर्न सक्नेछ । यसरी हेर्दा पनि निर्वाचन मिति भन्दा अगाडि विशेष महाधिवेशन गर्नु उपयुक्त हुँदैन ।’

यसका अतिरिक्त कुनै पनि वास्तविक महाधिवेशनको लागि दुइटा विषय अनिवार्य पूर्व सर्त हुनुपर्ने पनि उनको बुझाइ छ । उनले भनेका छन्, ‘यसका लागि वैचारिक दस्ताबेज तयार पारी तलब पार्टीको सबै तहमा कार्यकर्ता समक्ष पुर्‍याउनु पर्दछ, र त्यसमाथि अध्ययन छलफल हुनुपर्दछ । सबै वडा, पालिका र प्रदेश क्षेत्रका सम्मेलन र अधिवेशन गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नुपर्दछ । दुई महिना भित्रमा यो कार्य पूरा गरेर सार्थक महाधिवेशन गर्न सम्भव देखिन्न । त्यसैले हामीले निर्वाचन पछि सम्भव भएसम्म छिटो महाधिवेशन गर्ने सोच अनुसार अघि बढ्नुपर्ने आवश्यकता छ ।’

घोषित मितिमै निर्वाचन हुनुपर्छ

उनले घोषित मितिमा निर्वाचन सम्पन्न गरी देश विदेशलाई केन्द्रमा राखेर अन्तरिम सरकारलाई सफल पार्नुपर्ने पनि बताएका छन् । साथै, जेनजी आन्दोलनको मुद्दा र आवाजहरूलाई सम्बोधन गरी अग्रगामी रूपान्तरण, भदौ २३ गतेको नरसंहार दमन र भदौ २४ गतेको विध्वंसकारी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । 

भ्रष्टाचारीमाथि कारबाही गरिनुपर्ने, सुशासन अभियान अगाडि बढाइनुपर्ने, ध्वस्त गरिएका राष्ट्रिय सम्पत्तिहरूको पुनर्निर्माण गरिनुपर्ने र यसमा सबैले मद्दत गर्नुपर्ने उनको भनाइ छ । 

निर्वाचनबारे उनले भनेका छन्, ‘घोषित मितिमा निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन भन्ने संशयपूर्ण परिस्थिति विद्यमान रहेको अहिलेको अवस्थामा हामीले सम्पूर्ण कोसिस समयमै निर्वाचन सम्पन्न गर्नमा लगाउनुपर्दछ । साथसाथै सम्भावित सबै प्रकारको सङ्कट र चुनौतीको सामना गर्न पनि तयार रहनुपर्ने आवश्यकता छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?