काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू-उपयोग नियमावली संशोधनको प्रक्रियालाई अघि बढाउने घोषणा गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले यससम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन् ।
मन्त्री सिन्हाले हालसम्म भूमि सुधारका क्षेत्रमा थुप्रै काम भए तापनि कित्ताकाट रोकिँदा विकाससम्बन्धी कार्य प्रभावित भएकाले सहजीकरणको पक्षमा संशोधन गर्न लागिएको स्पष्ट पारे । उनले भने, ‘विशेषगरी कित्ताकाट रोकिएको विषय, विकास आयोजनाका लागि जग्गा प्राप्ति, कृषियोग्य जमिनको संरक्षण तथा सदुपयोगलाई प्राथमिकतामा राखी भू–उपयोगसम्बन्धी ऐन तथा नियमावली संशोधन गर्न आवश्यक छ ।’
उनले स्थानीय तहलाई दिइएको अधिकार पर्याप्त नभएकाले केन्द्रबाट आवश्यक सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै वैज्ञानिक र वस्तुनिष्ठ ढंगले जग्गा व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गरे ।
पदभार ग्रहणका अवसरमा मन्त्रालयका सचिव र उच्च अधिकारीहरूले मन्त्री सिन्हालाई स्वागत गर्दै मन्त्रालयको वर्तमान अवस्था, कार्य योजना र प्राथमिकताबारे जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया