तत्कालीन सरकारलाई जवाफ दिन भारतीय प्रधानमन्त्री मोदीले चाल चले : वामदेव गौतम 

लोकपथ
2.3k
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान विपरीत सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको बताएका छन् । 

राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आइतबार बसेको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले संविधानभन्दा बाहिर गएर सरकार निर्माण भएकोले यसको परिणाम भविष्यमा थप व्यहोर्दै जानुपर्ने बताए । हाल राज्य शक्ति सम्पूर्ण रुपले समाप्त भएको उनको भनाइ छ ।

उनले नेपालमा भएको जेनजी आन्दोलनको बारेमा पनि आशंका व्यक्त गरेका थिए । उनले यो आन्दोलन कहीँ कतैबाट परिचालित भएको हो की भन्ने लागेको बताए । उनले भारतीयहरुले केपी ओली सरकारलाई जवाफ दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो गतिविधि गरेको पनि उल्लेख गरे । ऐतिहासिक धरोहरहरु ध्वस्त भएको हेर्दा खेरी पनि यो आन्दोलन कसैले बदला लिनको लागि गरेको जस्तो देखिएको उनकोे दाबी छ । जेनजीले संसारमा यस्तो कहीँ पनि नगरेको उनको भनाइ छ । उनले यसलाई अराजकताको संज्ञा दिए ।

नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले जेनजीले पवित्र चाहना राखेर आन्दोलन गरेको भए पनि अपवित्र बनाइएको बताए । उनले अदृश्य शक्तिले पर्दा पछाडीबाट जेनजी आन्दोलनलाई अपवित्र बनाइदिएको आरोप लगाए । यो दुःखद भएको उनको भनाइ छ । ऐतिहासिक, नेपाली मौलिकता, नेपालको पहिचान, सांस्कृतिक धरोहर बोकेका सार्वजनिक सम्पत्तिहरूको नष्ट भएको उनले बताए ।    

नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले भ्रष्टाचार र बेतिथिले उकुसमुकुस भएको अवस्थामा तत्कालीन सरकारले गरेका केही क्रियाकलापको कारण जेनजी आन्दोलनले उग्र रूप लिएको बताए । सामाजिक सञ्जाल बन्द गर्ने काम, एमालेको विधान अधिवेशनमा मन्त्रीको गाडीले बालिकालाई दिएको ठक्कर घटना, जेनजी पुस्ताको आन्दोलनका बारेमा तत्कालीन सरकारका प्रमुखले दिएको टीकाटिप्पणी लगायतले पनि आन्दोलनलाई बल पुगेको उनको भनाइ छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?