काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गत वर्ष असारमा विघटित प्रतिनिधि सभापछि कांग्रेस–एमाले मिलेर बनेको सरकारले देशमा असन्तोषको वातावरण सिर्जना गरेको बताएका छन् ।
उनले केपी ओली नेतृत्वको सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका काममा कमी गर्दै बिचौलिया र स्वार्थ समूहको सेवामा बढी प्राथमिकतामा राख्दा जेनजी आन्दोलनको पृष्ठभूमि तयार भएको बताए । पुनले भने, ‘हामी प्रमुख प्रतिपक्षी हैसियतमा पटकपटक बिचौलिया वर्गको सेवा छाडेर जनताको सेवामा ध्यानाकर्षण गराए पनि बेवास्ता गरिएको खराब परिणाम देशले भोग्नुपर्यो ।’
आन्दोलनका क्रममा मुलुकका राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र सरकारी कार्यालयमा भएको नोक्सानीको लागि कूशासनका मतियारहरुले नै नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
पुनले जेनजी आन्दोलनको पहिलो र निर्णायक कारण मुलुकको आन्तरिक राजनीतिक, सामाजिक र आर्थिक अवस्था रहेको उल्लेख गर्दै भू–राजनीतिक परिस्थितिलाई सहायक कारणको रूपमा व्याख्या गरेका छन् । उनले आपत्ति जनाउँदै भने, ‘आन्दोलनको अवसरमा अध्यक्ष प्रचण्डसहित नेताहरूका निवास तथा पार्टी कार्यालयमा आगजनी र लुटपाट भएको छ। यसले माओवादी र अन्य दल उस्तै भन्ने भ्रम सिर्जना गर्ने कोसिस भइरहेको छ ।’
उपमहासचिव पुनले अमेरिका, रुस, चीन र भारतजस्ता शक्ति राष्ट्र बिचको संघर्षले नेपालमा पनि प्रभाव पार्ने र त्यसबाट मुलुकको स्वाधीनता ह्रास नहोस् भनेर सबै पक्षबिच सहकार्य र एकताको आवश्यकता औँल्याएका छन् ।
फरक प्रसंगमा उनले जेनजी आन्दोलनले पार्टीको नेतृत्व, संरचना र राज्य निकायमा आमूल रूपान्तरणको सन्देश दिएको पनि बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया