महानगरले दमकल पठाएन भन्ने आरोप निराधार : राजुनाथ पाण्डे

लोकपथ
469
Shares

काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेनजी आन्दोलनका क्रममा आगजनी नियन्त्रणमा ढिलाइ हुनुको मुख्य कारण आन्दोलनकारीकै अवरोध भएको बताएका छन् ।

बिहीबार वागदरबारमा पत्रकार सम्मेलन गर्दै उनले आगलागी भएका स्थानमा दमकल पठाउन ढिलाइ गरेको आरोप असत्य भएको स्पष्ट पारे । उनका अनुसार आन्दोलन, आगजनी र तोडफोडकै कारण दमकल सडकमा निस्कन नसकेको हो ।

‘२४ गते साँझ बौद्धबाट निस्कन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भयो, नेपाली सेनाको गाडीमाथि समेत आक्रमण भयो । त्यस्तो अवस्थामा अघि बढ्न नसकेर रोकिएको थियो, ‘उनले भने ।

पाण्डेका अनुसार राति सवा ८ बजेदेखि पौने १० बजेसम्म दुई वटा दमकल सिंहदरबारमा लगेर आगो निभाइएको थियो । नेपाली सेनाले सुरक्षाको जिम्मा लिएपछि मात्र दमकल सुरक्षित रूपमा परिचालन गर्न सहज भएको उनले जानकारी दिए ।

उनले भाटभटेनी, हिल्टन, सर्वोच्च अदालत र सिंहदरबारमा समेत दमकल परिचालन गरिएको उल्लेख गर्दै महानगरले कुनै हालतमा ढिलाइ नगरेको दाबी गरे । ‘महानगरले दमकल पठाएन भन्ने कुरा गलत हो । हामीले सुरक्षाको प्रत्याभूतिको आधारमा दमकल परिचालन गरेका हौँ,‘उनले स्पष्ट पारे ।

महानगर प्रहरीले आगजनी नियन्त्रणसँगै घाइतेको उपचार तथा खानपान व्यवस्थामा पनि खटिएको दाबी गरिएको छ । हाल उपत्यकामा ५ वटा दमकल परिचालनमा रहेको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?