रूपन्देही । राजनीतिक घटनाक्रममा आएको फेरबदलसँगै कार्तिक १७ गते रूपन्देही क्षेत्र नम्बर ३ मा हुने भनिएको उपनिर्वाचन रद्द भएको छ ।
जेनजी आन्दोलनपश्चात सरकार परिवर्तन भइसकेको छ भने संघीय संसद पनि विघटन भएकाले निर्वाचन स्वतः रद्द भएको निर्वाचन आयोगले जनाएको छ ।
०७९ सालमा रूपन्देही–३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहोराको निधन भएपछि प्रतिनिधिसभा सदस्य पद रिक्त बनेको थियो । सो रिक्तता पूर्ति गर्न आयोगले मिति तोकेर तयारी अघि बढाएको थियो । दलहरूले समेत अन्तिम तयारी पूरा गरी केहीले उम्मेदवार घोषणा गरिसकेका थिए ।
तर,संविधानको धारा ८४ को उपधारा (६) अनुसार प्रतिनिधिसभाको कार्यकाल सकिन दुई वर्षभन्दा कम समय बाँकी रहँदा उपनिर्वाचन नगर्ने व्यवस्था भएकाले यसपटक निर्वाचन आवश्यक नपर्ने ठहर भएको हो । आयोगका अनुसार प्रतिनिधिसभाको कार्यकाल समाप्त नजिक भएकाले बाँकी अवधिका लागि उपनिर्वाचन गर्न आवश्यक ठानेको छैन ।
यसअघि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक, कर्मचारी परिचालन, प्राविधिक तयारीलगायतका काम अघि बढाइसकेको थियो । दलहरूले गठबन्धन बनाउनुपर्ने, उम्मेदवार चयन गर्ने लगायतका विषयमा छलफल समेत गरेका थिए । तर उपनिर्वाचन रद्द भएपछि ती सबै तयारी स्वतः स्थगित भएका छन् ।
निर्वाचन आयोगका अधिकारीहरूले संवैधानिक प्रावधान नै यसपटक उपनिर्वाचन नगर्न बाधक बनेको स्पष्ट पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया