जेनजी प्रदर्शनमा धरानको भाटभटेनीमा लुट्न गएका चार जनाको शव भेटियो

लोकपथ
5.2k
Shares

धरान । सुनसरीको धरानस्थित भाटभटेनी सुपर स्टोरमा भदौ २४ गते भएको आगजनी र लुटपाटमा संलग्न चार जनाको जलेर मृत्यु भएको छ । धरानको भाटभटेनीमा त्यस दिन जेनजीको नाममा घुसपैठ हुँदा अराजक समूहले आगजनी र लुटपाट गरेका थिए । सो क्रममा लुटपाट गर्न गएकाहरूको जलेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

तीन जनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको थियो । शुक्रबार बिहान नै दोस्रो तलामा एक जनाको शव भेटिएपछि प्रहरीले थप खोजी गर्दा दिउँसो चौथो तलामा थप तीन जनाको शव फेला पारेको हो ।

शव खरानी बनेको अवस्थामा रहेकाले पहिचान खुल्न बाँकी छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार मृतकहरू सबै चोरी र आगजनीका लागि भित्र पसेका व्यक्ति हुन् । आगो तीव्रगतिमा फैलिँदा उनीहरू भित्रै फसेर जलेको हुनसक्ने उनले बताए । ‘मृतकको शरीर सबै जलेको र अस्तु मात्रै भेटिएकाले को हुन् भन्नेबारे खुल्न बाँकी छ,’ प्रहरी निरीक्षक कुँवरले भने, ‘प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर अस्तु नियन्त्रणमा लिएको छ ।’

आगजनी तथा लुटपाट गर्नेलाई प्रहरीले निगरानीसमेत बढाएको उनले बताए । यसैगरी लुटपाटमा संलग्न को हुन् भन्नेबारे सूक्ष्म अनुसन्धान भइरहेको बताइएको छ । 

आगजनीका कारण करोडौँ मूल्यबराबरको सामान जलेर नष्ट भएको र लाखौँ बराबरको चोरी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

यसैबीच जेनजी प्रदर्शनका क्रममा कोशी प्रदेशमा मृत्यु हुनेको संख्या आठ पुगेको छ । धरानको भाटभटेनीमा चार जनाको अस्तु मात्रै भेटिएपछि मृत्यु हुनेको संख्या आठ पुगेको प्रहरीले जनाएको छ । 

झापाको बिर्तामोडमा नेपाल प्रहरीसँगको झडपमा घाइते भएका पाँचथर हिलिहाङ–२ का ३१ वर्षीय कमल भण्डारीको मृत्यु भएको छ । यसअघि झडपमा झापा अर्जुनधाराका ३० वर्षीय गोपाल सेडाईको मृत्यु भएको थियो । यसैगरी भदौ २४ गते एकैदिन सुनसरीको इटहरी १६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी–१४ का मोहन सरदारको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार प्रदेशभरी हाल प्रहरीसँगको झडपमा चार जनाको मृत्यु भएको र भाटभटेनीमा चार जनाको अस्तु भेटिएपछि हालसम्म आठ जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?