रविको अपिल : संयमित हुनुहोस्, राष्ट्रको सम्पत्ति जोगाउने जिम्मेवारी हाम्रै हो

पूर्व प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने राय

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका छन् । मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै लामिछानेले आन्दोलनकारीलाई संयमित हुन आग्रह गरेका हुन् ।

लामिछानेले ‘देशका लुटेराहरूले सजाय पाइरहेको’ दाबी गर्दै उनीहरूको सम्पत्ति पूर्णरुपमा राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।

सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र क्षतिप्रति चिन्ता व्यक्त गर्दै लामिछानेले सार्वजनिक सम्पत्तिमा तोडफोड नगर्न र सार्वजनिक दस्ताबेजको संरक्षण गर्न पनि आग्रह गरेका छन् ।

साथै नयाँ बन्ने मन्त्रिमण्डल पनि जेन–जी कै परिकल्पा अनुरूप हुने समेत धारणा व्यक्त गरेका छन् ।

हेर्नुहोस् रविको सम्बोधन,

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

यस देशका लुटेराहरूले सजाय पाउने क्रम जारी छ । यिनको निजी सम्पत्ति यिनको होइन, देशको ३ पुस्तालाई लुटेर यिनीहरूले जोडेका हुन् । यिनको बाँकी सम्पत्ति पनि पूर्णरुपमा राष्ट्रियकरण गरिनुपर्छ र यिनीहरूलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ । तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति हरु जोगाउन जरुरी छ । राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायालय लगायतका दस्ताबेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति हुन्, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संवेदनशील दस्ताबेजहरू नास हुन सक्छन् । जुन तपाई हाम्रा लागि र यो देशका लागि अत्यन्त क्षतिपूर्ण हुन सक्छन् । सरकारी सम्पत्तिहरू क्षति हुँदा राष्ट्रकै सम्पत्तिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो । यो आन्दोलन विशुद्ध जेन-जीको हो । मुलुकको अबको नेतृत्व जेन-जीकै माग अनुसार र जेन–जीकै परिकल्पना अनुरूप अघि बढ्नु पर्छ भन्ने कुरामा म स्पष्ट छु । र, म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु ।

आम नागरिकको दबाबपछि सरकारले मेरो रिहाइको लागि कानुन बमोजिमको पक्रिया पूरा गरी पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ । यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भविष्यमा आई पर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु ।

एक सचेत नागरिकका रूपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?