सार्वजनिक तथा ढुवानी यातायात सेवा अनिश्चितकालीन बन्द गर्ने घोषणा 

लोकपथ
1.5k
Shares

काठमाडौं । जेनजी समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनको विरोध गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ ।

महासंघले हिजो भदौ २३ गते जेनजी समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कर्फ्यु लगाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सो घोषण गरेको हो । महासंघले शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने पनि जनाएको छ ।

दुःखद घटनाका कारण काठमाडौँ उपत्यका लगायत देशभरको जनजीवन प्रभावित भएको र विभिन्न स्थानमा कर्फ्यु आदेश जारी भएकोले सार्वजनिक यातायात तथा मालवाहक सवारी साधन सञ्चालन गर्न असहज परिस्थिति सिर्जना भएको जनाइएको छ ।

नेपाल सरकारबाट उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन नगर्न/नगराउन महासंघले आफ्ना सम्पूर्ण सदस्य संघ, समिति, कम्पनी तथा प्रालिहरुलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?