जेनजी आन्दोलनमा भएको दमनलाई लिएर कृषिमन्त्री अधिकारीले दिए राजीनामा

लोकपथ
3.3k
Shares

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका अधिकारीले जेनजीले सोमबार गरेको आन्दोलनमा राज्यले गरेको दमनलाई लिएर आज मंगलबार राजीनामा दिएका हुन् । 

उनले सोमबारको आन्दोलनमा भएको दमन, हत्या र बल प्रयोगले तानाशाही व्यवस्थातर्फ उन्मुख भएको भन्दै सो घटनाप्रति क्षमायाचना गर्दै राजीनामा दिएको बताएका छन् ।

मन्त्री अधिकारीले भनेका छन्, ‘लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानाशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भनी म झस्किएको छु । देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो ? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन । 

स–साना कलिला छोराछोरीहरूको हत्या र दमनपश्चात् देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेस गरेको जानकारी गराउँदछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?