काठमाडौं । एक व्यक्तिको हत्या गरेर ४५ वर्षसम्म फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । व्यक्ति हत्यामा संलग्न रही ४५ वर्षसम्म फरार रहेका जीवनाथ तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले घटनाको ४५ वर्षपछि हत्यामा संलग्न सिन्धुपाल्चोकका जीवनाथ तिमिल्सिनालाई ताहाचालबाट पक्राउ गरेको हो । २५ वर्षको उमेरमा व्यक्ति हत्यामा संलग्न रहेका तिमिल्सिनालाई प्रहरीले ४५ वर्षपछि ७० वर्षको उमेरमा पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरेको हो ।
२०३७ साल कात्तिक ७ गते सिन्धुपाल्चोकको साबिक माङ्खा गाविस वडा नम्बर ७ मा स्थानीय जितबहादुर तामाङको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट तथा खुकुरी प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्यामा संलग्न रहेका तिमिल्सिना हत्या लगत्तै फरार भएका थिए ।
लामो समय लुकिछिपी बसेका तिमिल्सिना काठमाडौंमा रहेको थाहा पाएपछि सक्रिय बनेको सिआइबीले भदौ २२ गते आइतबार काठमाडौंको ताहाचालबाट पक्राउ गरेको थियो । पक्राउपछि काठमाडौं जिल्ल अदालतमा पेस गरिएकामा कैद भुक्तानका लागि अदालतले कारागार कार्यालय डिल्लीबजारमा पठाएको छ ।
फरार रहेका प्रतिवादी तिमिल्सिना सिन्धुपाल्चोकको साबिक माङ्खा गाविस वडा नम्बर ८ तथा हालको बलेफी गाउँपालिका ६ का स्थायी बासिन्दा थिए ।
उनीमाथि अदालतबाट साबिकको कानुन अनुसार जन्मकैद अर्थात् २० वर्षको कैद सजाय सुनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया