ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अरू जुनसुकै कुरा सहन सकिए पनि देशलाई हेप्ने प्रवृत्ति सहन नसकिने बताएका छन् ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनको अन्तिम दिन आइतबार प्रतिनिधिहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बेथिति र हेपाहा प्रवृत्तिको सधैँ विरोध गर्ने बताएका हुन् ।
उनले भने, ‘राष्ट्रियता कविता होइन, छन्द होइन, क्षणिक स्वार्थ होइन । हामी वाक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिएर आएका शक्ति हौँ । नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानुनबमोजिम नबस्ने कुरा सह्य हुँदैन ।’
सामाजिक सञ्जालविरुद्ध एमाले नरहेको उल्लेख गर्दै ओलीले केही मानिसहरू विरोध मात्र गर्ने पात्र पुतलीजस्ता बनेको टिप्पणी गरे । उनले केही कहलिएका बुद्धिजीवीहरूको चिन्तन पनि स्वतन्त्र नभएको दाबी गर्दै समाजलाई गलत रूपमा प्रभावित गर्ने प्रयास भइरहेको आरोप लगाए ।
‘जेनजी’ पुस्ताबारे बोल्दै ओलीले भने, ‘पछिल्लो समयमा ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको छ, तर यो पुस्ता देशलाई माया गर्छ ।’
सरकारले एक वर्षअघि नै सामाजिक सञ्जाल दर्ता गर्न आग्रह गरेको स्मरण गराउँदै उनले देशको स्वाधीनता, संविधान र कानुनको पालना नगर्ने प्रवृत्ति अस्वीकार्य हुने स्पष्ट पारे ।
अध्यक्ष ओलीले असमानता घटाउँदै विभेद अन्त्य गर्ने नीति एमालेको रहेको उल्लेख गर्दै छलफलबाट तय भएका नीतिलाई आत्मसात् गर्दै ‘मिसन ८४’ को अभिभारा पूरा गर्न पार्टी अघि बढिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया