काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले सरकारका काम प्रभावकारी रूपमा अघि बढाउन सकिए मात्र पार्टी बलियो हुने बताएका छन् ।
ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावहरूको जवाफ दिँदै पोखरेलले भने, ‘सरकारले गरेका काम जनस्तरसम्म पुर्याउनुपर्छ। वडा तहबाट काम सुरु भयो भने प्रत्यक्ष देखिन सक्छ ।’
उनले नेताहरूले कमिटी व्यवस्थापन जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिँदै भने, ‘जुन कमिटीबाट नेता बिदा वा प्रवेश गर्छ, त्यसै कमिटीले निर्वाचनमा हारेकालाई व्यवस्थित गर्नुपर्छ। युवा र जनसङ्गठनलाई समुदाय र वर्ग केन्द्रित गर्नुपर्छ ।’
महासचिव पोखरेलले पार्टीमा ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व कम रहेको बताए । उनले भने, ‘४० वर्षका युवा प्रदेश र जिल्ला कमिटीमा प्रतिनिधि बनेका छन् तर पार्टी काममा उनीहरूको संलग्नता कमजोर छ। सुधार आवश्यक छ ।’
उनले महिला सदस्यता पर्याप्त नभएको पनि औँल्याए । पोखरेलका अनुसार, ‘केन्द्रीय कमिटीमा महिलालाई ३३ प्रतिशत सुनिश्चित गरेपछि पनि पार्टी सदस्यमा महिला २६ प्रतिशत मात्र छन् । सदस्यता विस्तार नगरी सक्षम नेतृत्व निर्माण गर्न सकिँदैन ।
पोखरेलले पार्टी नेताको जीवनशैली सरल हुनुपर्ने र बढ्दो तडकभडक जनताले नियालिरहेको पनि उल्लेख गरे । उनले समूह नेताबाट आएका लिखित प्रस्तावलाई साङ्गठनिक प्रतिवेदनमा समेटिने जानकारी दिएका छन् ।
महासचिवले राजनीतिक र साङ्गठनिक प्रतिवेदन सैद्धान्तिक भएकाले आवश्यक परेमा समूह नेताबाट छलफल गरेर केही सुधार गर्न सकिने र विधान संशोधन प्रस्ताव महाधिवेशनबाट पारित गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया