काठमाडौं । नेपाल संसदका सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र संघीय संसद् सचिवालयमा कृत्रिम बुद्धिमत्ता (एआई) को उपयोगबारे अध्ययन भइरहेको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले संसद् तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसनमार्फत समयमै काम सम्पन्न गर्ने तथा विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने र विश्लेषण गर्ने कार्यमा एआई उपयोगी हुने बताए ।
सभामुख घिमिरेका अनुसार यसले सांसदहरूलाई नीति निर्माणमा समयमै तथ्याङ्क र सुझाव उपलब्ध गराउन मद्दत पुर्याउनेछ। उनले जनताको गुनासो व्यवस्थापन, विधेयकको प्रारम्भिक मूल्याङ्कन र नीतिगत निर्णयको प्रभाव विश्लेषणजस्ता कार्यलाई पनि एआईद्वारा सरल बनाउन सकिने विश्वास व्यक्त गरे ।
तर, उनले गलत सूचना, ह्याकिङ र डाटा सुरक्षाको चुनौतीलाई ध्यानमा राख्दै एआई प्रयोग गर्नु आवश्यक रहेको स्पष्ट पारे । ‘सुरक्षात्मक र नैतिक मापदण्डमा विशेष ध्यान दिन जरुरी छ,‘उनले भने।
सभामुख घिमिरेले एआईको प्रयोगले दैनिक जीवनलाई सहज र प्रभावकारी बनाएको उदाहरण पनि प्रस्तुत गर्दै स्वास्थ्य सेवा, टेलिमेडिसिन, आपतकालीन चेतावनी प्रणाली जस्ता क्षेत्रमा यसको योगदान उल्लेख गरे ।
कार्यक्रमको अन्तिम सेसनमा संसदमा एआई जस्ता प्रविधिको प्रयोगबारे हुने छलफलले केही दिशानिर्देशन दिने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया