काठमाडौं । वरिष्ठ सञ्चारकर्मी समेत रहेका साहित्यकार डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ लोकार्पण गरिएको छ ।
शिखा बुक्सद्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, सांसदहरू विद्या भट्टराई, सुदन किराती र मनिष झा, साहित्यिक पत्रकार राजकुमार बानियाँलगायत महाकाव्य ‘कल्प’ लोकार्पण गरेका हुन् ।
महामन्त्री थापाले महाकाव्यमा लम्सालको प्रतिस्पर्धा आफैँसँग रहेको बताउँदै इतिहास, धर्म, संस्कृति, मानवतालगायत बहुआयामिकता विषय महाकाव्यमा समेटिएका उल्लेख गरे । कांग्रेस केन्द्रीय कार्यालयमा स्थापना भएको पुस्तकालय विभागले कल्प महाकाव्यका बारेमा बहस र अन्तरक्रिया गराउने उनले प्रतिबद्धता जनाए ।
त्यस्तै सांसद भट्टराईले मानिस, प्रकृति र संस्कृतिबिचको सम्बन्ध कल्प महाकाव्यमा रहेको बताए । वेदका छ वटा अङ्गमध्ये कल्प पनि एउटा भएको बताउँदै उनले अहिलेका विद्यार्थीलाई किताबको भारी बोकाए पनि यथार्थ ज्ञान दिन नसकिएको अवस्था पुस्तकले चित्रण गरेको धारणा राखिन् । मौलिकता हराएर सामाजिक आदर्शमा विचलन आएकाले सुधारका लागि कल्पले प्रेरित गर्ने उनले विश्वास व्यक्त गरिन् ।
यता सांसद किरातीले संविधान संशोधनका लागि सरकार गठन भएको र केही चर्चा पनि चलिरहेका बेला संविधानभन्दा पहिले सोचमा संशोधन गरिनुपर्ने बताए । चेपाङ, वनकरिया र राउटेको संस्कृतिका बारेमा महाकाव्य लेख्न उनले महाकाव्यकार लम्सालसँग आग्रह गरे ।
रास्वपा प्रवक्ता समेत रहेका सांसद झाले अज्ञानले संस्कृति र लोभले प्रकृति मासिएकाले यसबाट शिक्षा दिनेगरी महाकाव्य कल्प सार्वजनिक भएको बताए । अभिव्यक्ति स्वतन्त्रताको चर्चा गरिरहँदा सोच्ने स्वतन्त्रता छ कि छैन ? भन्ने बहस गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे ।
साहित्यिक समीक्षा गर्दै पत्रकार बानियाँले देश, धर्म र संस्कृतिको गहिरो जानकारी दिने महाकाव्य कल्प नवीन सोचसहित आएको बताए । साहित्य र राजनीतिमा वैश्विक चेतना आवश्यक छ भन्ने सन्देश महाकाव्यले दिएको उनको भनाइ छ ।
महाकाव्यकार लम्सालले चौथो महाकाव्यका लोकार्पण गर्ने अवसरमा आफूमा ब्रह्मानन्द अनुभूति भएको बताए । महाकाव्यमा तीन खण्ड र ११ सर्ग रहेका लोकार्पण समारोहमा गराइएको जानकारी थियो । यसअघि डा लम्सालका कर्ण, धरा र अग्नि महाकाव्य प्रकाशन भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया