काठमाडौं । अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका–४ पातलेपोखरामा ३४ वर्षीय सुमित्रा कुमाल गुरुङको हत्या भएको खुलेको छ । प्रहरीले खोजीको क्रममा उनको शव भान्छाकोठामा गाडिएको अवस्थामा फेला पारेको हो ।
प्रहरीका अनुसार, सुमित्राको श्रीमान किरण गुरुङले १२ भदौको राति विवादपछि बाँसको भाँटा र हँसियाले हत्या गरेका थिए । हत्या पछि शव कम्बलमा पोको पारेर भान्छामा खाल्डो खनेर गाडिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
श्रीमती बेपत्ता भएको खबर पाएको छरछिमेक र माइती पक्षले १६ भदौमा प्रहरी चौकी बाल्कोटमा खोजी गरिदिन अनुरोध गरेका थिए । प्रहरीले राति साढे ८ बजे शव उत्खनन् गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ ।
किरणले मादक पदार्थ सेवन गरेको अवस्थामा हत्या गरेको र घटनापछि घरमै बसेको पाइएको छ ।
हत्या गर्न प्रयोग भएका हतियारहरू बाँसको लाठ्ठी, हँसिया, कैँची, बेल्चा र सानो कोदालो बरामद गरिएको छ। घटनामा प्रयोग भएको मदिराको खाली बोतल र भरी बोतल पनि फेला परेको छ ।
प्रहरीले किरणविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ । किरण र सुमित्रा दुवै दोस्रो विवाहमा थिए र विगत १० वर्षदेखि सम्बन्धमा रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया