‘प्लटिङ’ गरेर व्यवसायीले नै दिए ट्राफिकलाई घुस, भिडियो खिचेर बदनामी !

लोकपथ
4.5k
Shares

काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनिरहेको छ, जहाँ एकजना ट्राफिक प्रहरीले घुस लिएको भन्दै केही व्यक्तिहरुले घेरा हालिरहेका देखिरहेका छन् ।

घटना सोमबार जडिबुटी चोकको हो । जहाँ ड्यूटीमा खटिएका ट्राफिक प्रहरी जवान आशिष चौधरीले घुस लिएको भन्दै केही व्यक्तिहरु खनिइरहेका देखिन्छन् । त्यहाँ हातमा केही कागजपत्र लिएर केही व्यक्तिहरु चौधरीले घुस लिएको भन्दै उनीमाथि आक्रोश व्यक्त गरिरहेका छन् । र, अन्य व्यक्तिहरुले ‘हो मा हो’ मिलाउँदै उनलाई कारबाही गर्नुपर्ने माग गरिरहेका छन् ।

हातमा केही कागजपत्र लिएर कराउने यातायात व्यवसायी हुन् । उनी अरनिको यातायात प्रालिका अध्यक्ष केदार खत्री रहेको बुझिएको छ ।

‘५ सय रुपैयाँ सार्वजनिक सवारी रोकेवापत ट्राफिक प्रहरीले उठाउँदै गरेको अवस्था छ । त्यसमध्येका यी एकजना ट्राफिक प्रहरी हुन् । जसले पैसा उठाउने काम गर्छन्,’ ती ट्राफिक प्रहरीलाई धकेल्दै उनले भनेका छन् ।

चौधरीले आफ्नो विषयमा कुरा राख्दै त्यहाँबाट आफ्नो ड्यूटीमा हिँड्न खोज्छन् । तर व्यवसायी खत्रीले उनलाई ‘यसमा चिट खै … ? भन्दै उनलाई प्रश्न गर्छन् । उनले घटनाबारे थप बुझाउन खोज्छन्, तर त्यहाँ यातायात व्यवसायी खत्रीसहित अन्य व्यक्तिहरुले न उनको कुरा सुन्छन् न त उनलाई त्यहाँबाट बाहिर जान दिन्छन् । प्रहरी जवान चौधरी आफ्नो कुरा राख्न नपाएपछि त्यहाँबाट निस्किन खोज्छन् । तर यातायात व्यवसायी खत्री र अर्का एक व्यक्तिले उनलाई बल प्रयोग गर्दै त्यहाँबाट उम्किन दिँदैनन् ।

‘लाईभ गर, ट्राफिकको मागी खाने भाँडो यस्तो छ, लाईभ गर’ भनेको आवाज भिडियोमा सुनिन्छ । चौधरी अर्कोतर्फबाट भीड भन्दा पर जान देखिन्छन् । त्यसपछि पुनः विवाद भइरहन्छ, जुन सार्वजनिक भएको भिडियोले देखाउँछ ।

विवादको अवस्था कसरी सिर्जना भयो ?

चौधरी आफ्नो ड्युटी गरिरहेका हुन्छन् । सोही समयमा कोही व्यक्ति आएर मैले ‘ब्लू बुक’ भेँटे भनेर उनको हातमा थमाइदिएर जान्छन् । उनले त्यसलाई आफ्नो गोजीमा राख्छन् । त्यसपछि अरनिको यातायात प्रालिका अध्यक्ष खत्रीसहितका व्यक्तिहरु त्यहाँ आइपुग्छन् र ट्राफिकले घुस खायो भन्दै विवाद गर्छन् सुरु गर्छन् ।

योजनाबद्ध रुपमा घटनाको प्लट तयार गरिएको ट्राफिकको दाबी

ड्युटीमा रहेका चौधरीलाई कसैले आएर ब्लू बुक दिनु, एकैछिनमा यातायात व्यवसायी खत्रीसहितका व्यक्तिहरु भिडियो खिच्न मोबाइल बोकेर त्यहाँ आइपुग्नु र उनलाई केरकार गर्नुको पछाडी घटनाक्रम पहिले नै विकसित भइसकेको हुनसक्ने ट्राफिक प्रहरीको आशंका रहेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) केशर न्यौपानेले त्यस घटनाको प्रकृति हेर्दा प्रहरीमाथि बदनाम गराउने मनसाय रहेको हुनसक्ने आशंका गर्छन् ।

‘कुनै व्यक्तिले आएर ब्लू बुक दिनु, एकैछिनमा सोही रुटमा चल्ने एक यातायात प्रालिका अध्यक्ष नै सोही स्थानमा आइपुग्नु र दिएको ब्लू बुक हेरेर निकाल्न लगाएर त्यहाँ पैसा रहेछ भन्दै घुस खायो भनेर कराउनु र भिडियो खिच्न लगाउनुमा केही शंका गर्ने ठाउँ छ,’ न्यौपानेले लोकपथसँग भने ।

त्यसो त देशको शान्ति सुरक्षा कायम गर्न ड्यूटीमै खटिएको अवस्थामा केहीले गरेको बदमासीका कारण समग्र प्रहरी संगठनमाथि नै प्रश्न उठ्ने गर्दछ । कतिपयलाई प्रहरीले कारबाही समेत गरिसकेको छ । कतिपयले सवारी चालकहरुबाट त्यसरी असुली धन्दा गरेको भन्दै कारबाही गरिएको तथ्यहरु नबाहिरिएका होइनन् ।

‘केही ट्राफिकले ड्यूटीमै रहेको अवस्थामा सवारी चालकहरुसँग खुलेआम घुस लिएको सार्वजनिक भइरहेका बेला जडिबुटीको केसमा पनि त्यही भएन भन्न सकिन्छ ?’ भन्ने लोकपथको प्रश्नमा न्यौपानेले भने, ‘हो, हाम्रो संगठनमा सबै असल र राम्रा मान्छेहरु छन् भन्ने मेरो दाबी छैन । केही गलत पात्रका कारण संगठन नै बदनाम भएको छ, जसलाई कारबाही समेत गरिएको र पटकपटक सचेत समेत गराइएको यहाँहरुलाई पनि थाहा छ । तर जडिबुटीको सन्दर्भमा जुन किसिमको घटनाक्रमहरु केही मिनेटमै विकसित भयो त्यहाँ घटनाको प्लटिङ तयार गरिएको आशंका विभिन्न तथ्यबाट खुल्न आउँछ । यदि घटनाको निष्पक्ष छानबिन भएर हाम्रा कर्मचारीको गल्ती रहेछ भने हदैसम्मको कारबाही हुनुपर्छ ।’

डीएसपी न्यौपानेले उक्त घटनालगत्तै यातायात व्यवसायीले नै प्रहरीलाई फोन गरेर ‘मैले भनेको थिएँ नि यस्तो हुन्छ भनेर, देख्नुभयो नि’ भन्नुको अर्थ पनि त्यहाँ पहिले नै प्लटिङ गरेर ब्लु बुकमा पैसा हालेर दिइएको हुन सक्ने आशंका रहेको बताए ।

त्यसो त यो नै ट्राफिक प्रहरी र यातायात व्यवसायीबिच विवाद देखिएको पहिलो घटना भने होइन । जहाँ मनलाग्यो त्यहीँ यात्रु उकाल्ने र ओराल्ने, ट्राफिक नियमको पालना नगर्ने र कारबाही गर्न लागेमा पहुँचका आधारमा कारबाही छल्ने प्रवृत्ति देखिन्छ ।

सो क्षेत्रमा समेत केही समयदेखि अन्य यातायातसहित अरनिको यातायात प्रालिसँग समेत ट्राफिक प्रहरीको टसल रहँदै आएको थियो । भनेको ठाउँमा यात्रु ओराल्ने र उकाल्ने नगर्ने लगायतका गतिविधिलाई ट्राफिकले कडाइ गर्न थालेपछि यातायात व्यवसायीहरु थप आक्रोशित बनिरहेका थिए ।

गत शुक्रबार जडिबुटी चोकमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा २ युवकको ज्यान गएको थियो । रोकिराखेको बा प्र०१–००६ख ४२४३ नम्बरको अरनिको यातायातको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु४३प ४९३८ नम्बरको स्कुटर पछाडिबाट ठोकिँदा स्कुटर चालक र स्कुटरमा सवार व्यक्तिको मृत्यु भएको थियो । त्यसपछि ट्राफिक प्रहरीले थप कडाइ गर्दै आइरहेकोमा व्यवसायीले आफूहरुलाई कडाइ गरेको भन्दै ट्राफिकमाथि आक्रोश व्यक्त गर्दै आइरहेको एक प्रहरी अधिकृतले लोकपथलाई बताए । ती प्रहरी अधिकारीका अनुसार अरनिको यातायात प्रालिमा आवद्ध केही व्यक्तिहरुले ‘हामी देखाइदिन्छौँ’ को शैलीमा ड्यूटीमा रहेका ट्राफिक प्रहरीमाथि खनिएका थिए ।

‘गत शुक्रबार जडिबुटी चोकमा रोकिराखेको अरनिको यातायातको बसमा ठोक्किएर दुई युवकको ज्यान गएको घटनाको विषयमा समेत केही व्यवसायीहरुले ड्यूटीमा रहेका ट्राफिक प्रहरीलाई धम्की दिएको कुरा समेत आएको छ । त्यसले पनि जडिबुटीको घटनामा धेरै शंका गर्ने ठाउँ छ, जसले घटनाको प्लटिङ तयार गरेर नै ट्राफिक प्रहरीको बदनाम गराउने मनसाय राखिएको पुष्टि हुन्छ,’ ती प्रहरी अधिकृतको दाबी रहेको छ ।

उक्त रुटमा हाल अरनिको यातायातसहित काभ्रे मिनि बस, भक्तपुर यातायात, ख्वप यातायात, नेपाल यातायात, ठिमी चल्ने यातायात र माइक्रोबसहरु, पूर्व जाने गाडीहरु तथा सुमो लगायत सञ्चालनमा रहेका छन् । काठमाडौंकै व्यस्त मध्येका मुख्य चोकका रुपमा रहेको जडिबुटीमा ट्राफिक प्रहरीले कडाइ गर्दै आइरहेको छ ।

यातायात व्यवसायीहरुबिच अस्वस्थ प्रतिष्पर्धा, ट्राफिक नियम पालना नगर्ने, यात्रुहरुलाई अनावश्यक दुःख दिने मात्र होइन पैदल यात्रु र मोटरसाइकल, स्कुटर लगायत अन्य सवारीसाधनलाई समेत जोखिम हुने गरी सवारी चलाउने लगायतका गुनासो आइरहेका छन् । चौतर्फी गुनासोपछि उक्त रुट भएर चल्ने सवारी साधनहरुमाथि ट्राफिकले कडा निगरानी र कारबाही समेत गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?