चुनावको मुखमा पाकिस्तानका तीन आतंककारी नेपाल हुँदै बिहार छिरेको भारतीय प्रहरीको दाबी, भारतमा त्रास

बिहारमा रहेका भारतीय कांग्रेस नेता राहुल गान्धीको सबै कार्यक्रम स्थगित 

लोकपथ
2.1k
Shares

काठमाडौं । भारतले पाकिस्तानस्थित आतंकवादी संगठन जैस–ए–मोहम्मदका तीन आतंककारी नेपाल हुँदै आफ्नो राज्य बिहार प्रवेश गरेको दाबी गर्दै तिनीहरूको नाम र तस्बिरसमेत सार्वजनिक गरेको छ । उनीहरू तीनै जनाको राहदानीसँग सम्बन्धित जानकारी पनि सार्वजनिक गरिएको छ । 

भारतीय प्रहरीले ती आतंकवादीहरु गएराति बिहार प्रवेश गरेको दाबी गरेको छ । तर उनीहरूले नेपालको कुन नाका प्रयोग गरे भन्नेबारे केही खुलाइएको छैन । 

उनीहरूको बिहार प्रवेशसँगै भारतको प्रहरी मुख्यालयले भागलपुरलगायत बिहारका सबै जिल्लामा ‘हाई अलर्ट’ जारी गरेको छ ।

बिहार प्रवेश गर्ने पाकिस्तानी आतंककारीमा बहावलपुरका मोहम्मद उस्मान, उमरकोटका आदिल हुसेन र रावलपिंडीका हसनैन अली अवान भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

भारतीय सञ्चार माध्यमले तीनै जना आतंककारी अगस्ट दोस्रो साता काठमाडौं आइपुगेको दाबी गरेको छ ।

पाकिस्तानबाट बिहार पुगेका ती आतंककारीले अब के कस्तो देशमा आतंकवादी घटना गराउँछ भनेर भारत त्रासमा परेको छ । 

उनीहरूको भारत प्रवेशसँगै नेपालसँग सीमा जोडिएका अररिया, किशनगन्ज, सुपौल, मधुबनी, भागलपुर, सीतामढी, पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लालाई उच्च निगरानीमा राखिएको भारतीय प्रहरीले जनाएको छ ।

उनीहरूको बिहार प्रवेशपछि अन्य प्रदेशका सुरक्षाकर्मीहरूलाई समेत उच्च सतर्कतामा राखिएको छ ।

बिहारमा केही दिनपछि प्रदेश सभा चुनाव हुँदैछ । चुनाव प्रचारका लागि भारतीय कांग्रेसका नेता राहुल गान्धी बिहार पुगेका छन् । आतंकवादी गतिविधिको सूचना सार्वजनिक भएपछि उनका सबै कार्यक्रम स्थगित गरिएको छ । 

यसअघि सन् २०२४ मा पनि नेपालबाट आतंकवादी घुसेको भन्दै तीन जनालाई भारतीय सुरक्षाकर्मीहरुले पक्राउ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?