काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भीर भएर लाग्ने बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले यस विषयमा सरकारले अध्ययन गराउने तयारीमा रहेको बताए ।
उनका अनुसार, मुलुकलाई एफएटिएफले ग्रे लिस्टमा राखेको अवस्थामा अनौपचारिक अर्थतन्त्रलाई छिटो औपचारिक बनाउन सरकारमाथि दबाब छ ।
मन्त्री पौडेलले भने, ‘अनौपचारिक अर्थतन्त्र हामी कसरी औपचारिक बनाउन सक्छौँ भन्ने विषय अत्यन्तै गम्भीर छ । यसका दायरा, प्रभाव र परिणामलाई अध्ययन गरी त्यसअनुसार आवश्यक कदम चाल्नुपर्छ। ग्रे लिस्टबाट बाहिर निस्कन हाम्रो चुनौती छ, त्यसैले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’
अर्थमन्त्रीले सार्वजनिक ऋण सीमा भित्रै रहेको उल्लेख गर्दै, अहिलेको ऋण स्तर ‘धान्न नसक्ने तहमै’ पुगेको भए पनि होसियार भएर अघि बढ्नुपर्ने बताए । उनले अनावश्यक ऋण नलिने, मुलुकको प्राथमिकता र आवश्यकता अनुसार मात्र ऋण लिने नीति अपनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले वैदेशिक सहायता परिचालनमा सरकारले पछिल्लो समय आवश्यक नीति पनि बनाएको जानकारी दिए । मन्त्री पौडेलका अनुसार, हालै मन्त्रीपरिषद्ले पास गरेको नीति अनुसार, सहकारी परियोजना वा विकास साझेदारीका लागि मात्र ऋण लिने व्यवस्था गरिएको छ ।
मन्त्री पौडेलले अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न र त्यसलाई औपचारिक बनाउने प्रयासमा सबैको सहयोग आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया