उखुको अनुदान भुक्तानी माग गर्दै किसानको आन्दोलन आज पनि जारी

लोकपथ
182
Shares

काठमाडौं । उखुको अनुदान भुक्तानीको माग राखी आन्दोलनमा उत्रेका उखु किसानले आन्दोलन जारी राखेका छन् ।

किसानले काठमाडौंको माइतीघरमा आइतबारदेखि सुरु गरेको आन्दोलनलाई बुधबार पनि निरन्तरता दिएका हुन् । 

उखु उत्पादन महासंघ नेपालका अध्यक्ष श्यामबाबु रायले आर्थिक वर्ष २०८१/२०८२ मा सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान भुक्तानी पाउनुपर्ने आफुहरुको मुख्य माग रहेको बताए । 

उनकाअनुसार गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्वीन्टल ६ सय ५५ रुपैयाँ तोकेको थियो । उक्त रकममध्ये उद्योगले ५ सय ८५ रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान किसानलाई दिनुपर्नेछ । तर सरकारले ७० रुपैयाँ अनुदान नदिएको अध्यक्ष रायले बताए । सरकारले आर्थिक अभाव देखाएर उखु किसानको अनुदानलाई आधा कटौती गरेको छ । 

प्रतिक्वीन्टल ३५ रुपैयाँले किसानलाई अनुदान उपलब्ध गराउने गरी अर्थ मन्त्रालयले मंगलबार ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ निकासा गरेको छ । तर सो रकममा किसानले चित्त बुझाएका छैनन् । अध्यक्ष रायले ७० रुपैयाँका दरले हुन आउने एक अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदान निकासा गर्न सरकारसँग माग गरे । 

किसानले पाउने अनुदानको रकम घटाउने गरी सरकारसँग वार्तामा आफूहरु नबस्ने पनि अध्यक्ष रायले बताए । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मंगलबार कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंहको नेतृत्वमा उखु किसानसँग वार्ता गर्नको लागि समिति गठन गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?