खेलसँग कुनै साइनो नजोडिएका डीआईजीको विदेश मोह, पहिलो खेलमै एपीएफको महिला फुटबल टोलीलाई लाग्यो ‘लोदर’

लोकपथ
4.5k
Shares

काठमाडौं । आजको मितिले ठीक डेढ महिनापछि अवकाशमा जान लागेका सशस्त्र प्रहरी बलका एक जना नायव महानिरीक्षक (डीआईजी) अहिले उज्बेकिस्तानमा छन् । खासमा उनी एपीएफ क्लबको एउटा खेलाडीको टोली लिएर त्यहाँ गएका हुन् । तर उनी के नाताले टोलीको नेतृत्व गर्दै त्यहाँ गएका हुन् भन्ने प्रश्न उब्जिएको छ । 

नत उनी सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालय हाताभित्रै रहेको खेलकुद शिक्षालयका समादेशक हुन् नत प्रशिक्षक । उनी त्यहाँ नगएको भए केही ‘बित्यास’ नै हुने थियो । 

सिर्फ विदेश घुम्ने रहरमा सशस्त्र प्रहरी बलको पैसामा त्यहाँ गएका डीआईजी हुन् कालीदास धौवजी । हाल उनी सशस्त्र प्रहरी बलको प्रवक्ताको भूमिकामा छन् । 

डीआईजी धौवजी २०५२ साल असोज २६ गते नेपाल प्रहरीमा प्राविधिक नायब निरीक्षक (सई) मा प्रवेश गरेका व्यक्ति हुन् । यो हिसाबले उनी दसैंलगत्तै आगामी असोज २५ गते अनिवार्य अवकाशमा जाँदै छन् । उनी ३० बर्से सेवा अवधिका कारण अवकाशमा जान लागेका हुन् । 

२०७८ साल असार ३१ गते डीआईजी भएका उनको यही असारमा डीआईजीको एक वर्षे म्याद पनि थप भएको थियो । 

एसियन फुटबल कन्फिडेरेसन (एएफसी) को आयोजनामा उज्बेकिस्तानको कर्सी सहरमा सोमबार भएको प्रतियोगिताको पहिलो खेलमै नेपाल एपीएफ क्लबलाई ‘लोदर’ लागिसकेको छ । नेपाल एपीएफ क्लब र उज्बेकिस्तानबिच सोमबार राति सवा ९ बजेदेखि सुरु भएको खेलमा एपीएफ क्लब ३–० ले पराजित बनेको थियो । 

एएफसी वमेन्स क्लब च्याम्पियन्स लिग २०२५–२६ नाम दिइएको सो प्रतियोगिता भदौ १५ सम्म चल्ने छ । एपीएफ क्लबले अब बिहीबार कलेज अफ एसियन स्कलर्स र शनिबार एजे नासर क्लबसँग खेल्ने भएको छ । 

सो खेलमा सहभागी हुन नेपाल एपीएफ क्लबका महिला फुटबल टोली भदौ ६ गते बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेको थियो । त्यसतर्फ प्रस्थान गरेका प्रशिक्षक एवं अफिसियलहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भदौ ५ गते खेल सफलताको अग्रिम शुभकामनासहित हार्दिक बिदाइ गरेका थिए । 

स्रोतका अनुसार, डीआईजी धौवजीले अवकाशको उत्तरार्द्धमा विदेश भ्रमण गर्ने इच्छा प्रकट गरेपछि आईजीपी अर्यालले ‘उनको रहर मेटाउन’ त्यहाँ पठाएका हुन् । असम्बन्धित व्यक्ति असम्बन्धित ठाउँमा विदेश भ्रमणमा गएको भन्दै अहिले सशस्त्र मुख्यालयमा उनको कुरा काट्न थालिएको छ । 

नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भई सशस्त्र प्रहरीमा आएर आफ्नो भाग्य चम्काउन सफल भएका धौवजीले डीआईजी भएपछि सशस्त्र प्रहरी एकेडेमी, नम्बर ४ बाहिनी र नम्बर २ बाहिनीको नेतृत्व गरेका थिए । 

धौवजी तिनै अधिकृत हुन्, जसलाई २ नम्बर बाहिनीको बाहिनीपति हुँदा उचित कार्यसम्पादन गर्न नसकेको भन्दै २४ औँ सशस्त्र प्रहरी दिवसभन्दा केही दिनअघि प्रधान कार्यालयमा स्पष्टीकरणका लागि बोलाइएको थियो । त्यसपछि चार दिन सशस्त्र प्रहरी मुख्यालयको घाम तपाएर आगामी दिनमा राम्रो काम गर्नु भन्दै अल्टिमेटम दिँदै उनलाई बाहिनी कार्यालय पठाइएको थियो । 

बाहिनीपति धौवजी तिनै डीआईजी हुन्, जसले नेपाल–भारत सीमा क्षेत्रमा सहकार्य गर्नेबारेमा दुई देशका डीआईजीस्तरको समन्वयात्मक (कोअर्डिनेसन) बैठकको खर्चमा समेत अनियमितता गरेका थिए । गत कात्तिक ६ गते बर्दिबासमा भएको सो बैठकको खर्च राज्यको तर्फबाट गर्नुपर्नेमा बाहिनीपति धौवजीले मधेस प्रदेशका ८ वटा गण र दुई वटा रिजर्भ गणबाट भाग नै लगाएर असुलेका थिए । उनले आठ वटा गणबाट प्रतिगण ९६ हजार ८ सय रुपैयाँ र २ वटा रिजर्भ गणबाट ५० हजारका दरले रकम असुलेका थिए ।

धौवजी यस्ता भाग्यमानी डीआईजी हुन्, जो डीआईजी भएपछि लगातार कमान्डमा छन् । डीआईजी भएपछि सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा पहिलो कमान्ड गरेका उनको त्यसपछि नम्बर ४ बाहिनी पोखरामा सरुवा भएको थियो । पोखरा बाहिनीबाटै उनी नम्बर २ बाहिनीमा सरुवा भएका थिए । धौवजी शक्तिकेन्द्रलाई रिझाउन माहिर व्यक्तिका रूपमा समेत चिनिन्छन् ।

सो बैठकमा भारतका डीआईजी, बटालियन कमान्डरहरूको उपस्थिति रहेको थियो । नेपालतर्फबाट भने बाहिनीपति डीआईजी धौवजी, सहायक बाहिनीपति, मधेस प्रदेशका जिल्लाका गणपतिको उपस्थिति रहेको थियो । बैठकमा आपसी समन्वय तथा सहकार्य गरी बोर्डर इलाकाको सरसफाइ पोस्टहरूको निर्माण, बोर्डर पिलरहरूको मर्मत सम्भार जस्ता कुराहरूबारे छलफल भएको थियो ।

तर, बैठकको खर्च भने बाहिनी कार्यालयबाट नतिरी गणहरूलाई तिर्न लगाएको भन्दै गणपतिहरू नै रुष्ट बनेका थिए । बैठकमा भएको खर्चभन्दा बढीको बिल बनाएर रकम असुलेको आरोप पनि गणपतिहरूले लगाएका थिए । कोअर्डिनेसन मिटिङको खर्च बाहिनीको शिष्टाचार पाहुना खर्चअन्तर्गत आएको बजेटबाट गर्नुपर्ने हुन्छ । तर भारतीय समकक्षीसँग राखिएको बैठकको खर्च गणपतिबाट उठाएर अतिथि सत्कारका लागि राखिएको रकम कुन कोषबाट खर्च गर्ने भन्ने प्रश्न डीआईजी धौवजीमाथि यसअघि पनि उठेको थियो ।

डीआईजी धौवजीलाई पदीय आचरणअनुरूपको काम नगर्ने, पैसाका लागि जस्तोसुकै काम गर्न पनि पछि नपर्ने, मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई मानवीय व्यवहार पनि नगर्ने अधिकृतका रूपमा चिनिन्छ । २ नम्बर बाहिनीको बाहिनीपतिका रूपमा उनको १० महिने कार्यकालमा मधेस प्रदेशमा दुई जना सशस्त्र प्रहरी अधिकृतले अनाहकमा ज्यान गुमाएका थिए । सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सर्लाहीमा भेप तस्करीको आशंकामा बस रोक्न खोज्दा सोही बसले किचेर मृत्यु भएको थियो ।

यस्तै, सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणकुमार यादवको मंसिर १६ गते मदिरा तस्करीको गाडीले किचेर हत्या गरिएको थियो । नेपाल–भारत सीमा क्षेत्र बरियारपट्टी गाउँपालिका–१ कचनारीमा त्यस दिन मदिरा तस्करले सई यादवको किचेर हत्या गरेका थिए । गस्तीमा खटिएका यादवले मदिरा बोकेको जिपलाई रोक्ने क्रममा उनलाई ठक्कर दिएर भागेको थियो । गाडीले ठक्कर दिएर मृत्यु हुनुअघि सई यादवले डीआईजी धौवजीले मदिरा तस्करी नरोक्न दबाब दिएको पनि बताएका थिए ।

यी विषयमा सशस्त्र प्रहरी मुख्यालयले सोधपुछका लागि बोलाउँदा उनले सशस्त्र प्रहरी महानिरीक्षक अर्याल, अतिरिक्त महानिरीक्षकहरूलाई आफूले राम्रो काम गरेको, गणपति र गुल्मपतिहरुले मासिक रूपमा आफूलाई पैसा दिन आए पनि आफूले अस्वीकार गरेको, तस्करी नियन्त्रणमा राम्रो काम गरेको जवाफ दिएका थिए । फलस्वरूप उनलाई आईजी एपीएफ कमिन्डेसन अवार्डसमेत दिइएको थियो सशस्त्र प्रहरीको वार्षिकोत्सवको अवसरमा ।

उनका यी तीन ओटै कमान्ड भने विवादमुक्त रहेन । उनीमाथि सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थको समादेशक रहेका बेला म्युजियम बनाउन भन्दै मातहतको तालिम कार्यालयबाट ठूलो मात्रामा रकम उठाएको तर नाम मात्रको भवन बनाएको आरोप लागेको थियो ।

उनीमाथि सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थको समादेशक रहेका बेला म्युजियम बनाउन भन्दै मातहतको तालिम कार्यालयबाट ठूलो मात्रामा रकम उठाएको तर नाम मात्रको भवन बनाएको आरोप लागेको थियो ।

यस्तै पोखरामा हुँदा बाहिनीपति निवासनजिकै गेस्ट हाउस बनाउने भन्दै मातहतका कार्यालयबाट ठूलो मात्रामा रकम उठाएको आरोप लागेको थियो । पोखरामा हुँदा मातहतका गणपति र गुल्मपतिबाट मासिक रूपमा रकम उठाएको आरोप पनि उनीमाथि छ । उनी बाहिनीपति रहेकै बेला तनहुँस्थित गणका गणपति कमल गैरेलाई सशस्त्र मुख्यालयले फिर्ता बोलाएको थियो । डीआईजी धौवजीलाई नियमित रूपमा रकम बुझाउनु पर्ने भएपछि तत्कालीन गणपति गैरेले ठूलो संख्यामा सशस्त्र कर्मचारी ‘आउट’ छाडेर राशनको रकममा घोटाला गरेका थिए । 

यस्तै, मधेस प्रदेशको बाहिनीपति भएपछि पनि उनले अन्य ठाउँमा जस्तै त्यहाँ पनि भवन बनाउने भन्दै त्यस क्षेत्रका व्यापारी र सशस्त्र प्रहरीका गणपति, गुल्मपति र बेसपतिहरु रकम उठाएका थिए । डीआईजी धौवजीले जथाभाबी रूपमा रकम माग्न थालेपछि व्यापारी र सशस्त्र प्रहरीकै अधिकृतहरूले सशस्त्र मुख्यालयमा गुनासो नै गरेका थिए । उनीमाथि रासनको पैसा खान बाहिनीमा कार्यरत आधाभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरू छाड्ने गरेको आरोप पनि लागेको थियो ।

काठमाडौं कोटेश्वर घर भएका उनीमाथि अवैधरुपमा आर्जन गरेको रकमबाट बारास्थित सशस्त्र प्रहरी गणसँगै दुई बिघा, खोटाङको सशस्त्र प्रहरी गुल्मसँगै एक बिघा जग्गा जोडेको आरोप छ । यस्तै, भक्तपुरको कौशलटारमा तीन रोपनी क्षेत्रफलमा बनेको ४० ओटा सटर भएको घर, बोडेगाउँमा पनि जग्गा छ । नीलबाराही गणको गणपति हुँदा उनले एपीएफ अस्पताल बलम्बुनजिक दुई रोपनी जग्गा किनेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?