राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवार टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक बस्दै

लोकपथ
1k
Shares
फाइल तस्बिर

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवारबारे निर्णय गर्न नेपाली कांग्रेसका पदाधिकारीहरूको अनौपचारिक बैठक पार्टी सभापति देउवा निवास बुढानीलकण्ठमा बस्दै छ । 

बैठकमा उपसभापतिद्वय पूर्ण बहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको छ ।

कुलिङ पिरियडसम्बन्धी विवादका कारण समितिको सभापति पदबाट आफ्नो पार्टीका सांसद रामहरि खतिवडाले साउन २८ गते राजीनामा दिएपछि सो पद रिक्त रहेकाले आजको बैठकले सभापतिको टुंगो लगाउने छ । 

पद रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले पनि आजै निर्वाचन गर्नुपर्ने बाध्यता छ । सभामुख देवराज घिमिरे कांग्रेसबाट आजै सभापतिको उम्मेदवारको नाम आउने प्रतीक्षामा छन् ।

नयाँ सभापति चयन प्रक्रिया अगाडि बढाउन सभामुखले आइतबार दिनभरि गरेको प्रयास सफल नभएको उनको सचिवालयले दाबी गरेको छ ।

‘अन्य दलको दाबी नरहेको अवस्थामा सभामुखले कांग्रेस प्रमुख सचेतकसँग दुई पटक छलफल गर्नुभएको थियो ।  तर आन्तरिक छलफल गर्नुपर्ने भएकाले सूचना रोकिदिन आग्रह गर्नुभएको थियो,’ सभामुखको सचिवालयले भनेको छ।

सोमबार बिहान कांग्रेस पदाधिकारी बैठकले सभापतिको टुंगो लगाउने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेबाट जबाफ आएको सभामुखको सचिवालयले बताएको छ ।

‘आज बिहान सूचना जारी गर्नैपर्ने नियमावलीको बाध्यात्मक परिस्थिति सभामुखले बताउनुभएको छ । विगतमा पनि तोकिएको समयमा सभापति चयन हुन नसक्दा राज्य व्यवस्थाको बैठक नै बस्न नसकेको गलत नजिर दोहोर्‍याउन नहुने सभामुखले बताउनुभएको थियो,’ सभामुखको सचिवालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?