सशस्त्र प्रहरीद्वारा छात्रा ओजस्वी आचार्यलाई लागूऔषधविरुद्धको अभियानमा ‘जागरण दूत’ घोषणा 

लोकपथ
532
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले यस वर्षलाई लागूऔषध दुर्व्यसनी तथा ओसारपसारविरुद्धको वर्षको रूपमा मनाएको अवसरमा दमकडा नमुना माध्यमिक विद्यालय तानसेन पाल्पामा कक्षा ९ मा अध्ययनरत छात्रा ओजस्वी आचार्यलाई संगठनको लागूऔषधविरुद्धको अभियानमा ‘जागरण दूत’ घोषणा गरेको छ ।  

सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको आठौँ वार्षिकोत्सवको अवसरमा ‘लागूऔषधको दुर्व्यसनी, त्यसको असर तथा ओसारपसार नियन्त्रणमा विद्यार्थीको भूमिका’ विषयमा प्रदेशस्थित विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । जसमा लुम्बिनी प्रदेशका ७२ विद्यालयका ३६ छात्र र ८० छात्रा गरी १ सय १६ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । 

प्रविधिको माध्यमबाट भएको प्रतियोगितामा प्राप्त भिडियोमध्ये प्राध्यापक तथा विज्ञहरूको निर्णायक मण्डलद्वारा ३ सय पूर्णांक राखेर प्रथम, द्वितीय र तृतीय छुट्याइएको थियो । प्रतियोगितामा ओजस्वी आचार्य प्रथम भएकी थिइन् । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शनिबार बाहिनीको वार्षिकोत्सवको अवसरमा उनलाई नगद पुरस्कारसहित सम्मान गरेका थिए । उनले सो अवसरमा आचार्यलाई सशस्त्र प्रहरी बल नेपालको लागूपदार्थ दुर्व्यसनी तथा ओसारपसारविरुद्धको अभियानमा ‘जागरण दूत’ को रूपमा सम्मान ग्रहण गर्न अनुरोध गरेका थिए । 

महानिरीक्षक अर्यालले उनीसँगै द्वितीय, तृतीय र सान्त्वना पुरस्कार जित्न सफल क्रमशः नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनौरा मधुवन, बर्दियामा कक्षा १० मा अध्ययनरत छात्रा श्रीतिका भट्टराई, नेपाल एपीएफ स्कुल कोहलपुर, बाँकेमा कक्षा ८ मा अध्ययनरत छात्रा परी केसी र रिभर क्विन्स स्कुल बर्दियामा कक्षा ६ मा अध्ययनरत छात्रा शुभेच्छा खड्कालाई समेत नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?