रौतहटमा सुटकेसभित्र भेटिएको शव रुवी कुमारी साहको, शव भेटिएपछि आयो हराएको सूचना

लोकपथ
8.4k
Shares

काठमाडौं । रौतहटमा सुटकेसभित्र भेटिएको महिलाको शव स्थानीय माधवनारायण नगरपालिका ६ माइती भएकी रुवी कुमारी साहको भएको पुष्टि भएको छ । रौतहट प्रहरीका प्रवक्ता डिएसपी राजु कार्कीका आइतबार बिहान सुटकेसभित्र भेटिएको शव रुवी कुमारी साहको भएको खुलेको हो ।

रौतहटको गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिकै शनिवार राति करिब ११ बजे सुटकेस फेला परेको थियो । बाहिर डोरीले बाँधेर सडक किनारमा छाडिएको उक्त सुटकेसभित्र विस्फोटक पदार्थ हुन सक्ने आशंका गरी प्रहरीले रातभर सुरक्षा दिएको थियो ।

आइतबार बिहान विस्फोटक पदार्थ नरहेको पुष्टि भएपछि रौतहट प्रहरीका डिएसपी राजु कार्की नेतृत्वको प्रहरी टोली पुगेर सुटकेस खोल्दा त्यसभित्र महिलाको शव भेटिएको थियो । बिहान साँढे ६ बजे सुटकेस खोलेर हेर्दा महिलाको शव भेटिएको हो ।

सुरुमा पहिचान नखुलेको उक्त शव त्यसको केही समयमै मृतक महिलाकी आमाले आफ्नी छोरी रुवी कुमारी साह भएको सनाखत गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्तासमेत रहेका डिएसपी राजु कार्कीका अनुसार मृतक रुवी कुमारी साहको माइती रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ६ मा रहेको छ । उनको विवाह भने भारतको मुजफ्फरपुरमा भएको थियो ।

रुवी यति बेला गौर नगरपालिका २ मा कोठा भाडामा लिएर बस्ने गरेकी थिइन् । आफ्नो छोरालाई पढाउनका लागि भन्दै रुवी गौरमा आफ्नी आमासँग बस्ने गरेकी थिइन् । उनी बसेको स्थान माइती र घरको ठिक बिचमा पर्ने स्थान हो । ४ वर्षको छोरा पढाउन गौरमा बस्दै गरेकी उनको आइतबार बिहान सुटकेसभित्र शव भेटिएको हो ।

उनकी आमाको अनुसार रुवीको उमेर २६ वर्षको छ । शनिवार साँझ कबिर ५ बजेसम्म बजारमा देखिएकी उनी त्यसपछि भेटिएकी थिइनन् । उनी हराएको सूचना पनि आइतबार बिहानसम्म आएको थिएन । आइतबार बिहान सुटकेसभित्र महिलाको शव भेटिएको खबर बाहिरिएसँगै उनकी आमा र भाइ रुवी हराएको भन्दै प्रहरी कार्यालय पुगेका थिए ।

शवको प्रारम्भिक अवस्था हेर्दा सल र सानो डोरीले घाँटी कसेर उनको हत्या भएको पाइएको छ ।

रुवीको हत्या भएको सूचना पाएसँगै भारतबाट उनका पति पनि गौर आइपुगेका छन् ।

रुवीको घरतर्फको सम्बन्ध पनि राम्रो रहेको र सल्लाहमै गौरमा बसेर छोरो पढाएको उनका पतिले प्रारम्भिक जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?