मकवानपुर । हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथ सडक पुनः सञ्चालनमा आएको छ ।
शुक्रबार साँझ पहिरोका कारण अवरुद्ध भएको सडक शनिबार बिहान ११स्१५ बजेदेखि आवागमनका लागि खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार शुक्रबार साँझ भिमफेदी गाउँपालिका–८ स्थित भर्याङडाडामा माथिबाट ढुङ्गा र माटो खस्दा सडक अवरुद्ध भएको थियो ।
साथै, शनिबार बिहान बकैया गाउँपालिका–१२ सिमात खोला र जितपुर भञ्ज्याङमा पनि पहिरो खसेपछि यातायात प्रभावित भएको थियो ।
प्रहरीले ती स्थानमा पहिरो पन्छाएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ । तर, सडक खण्डमा अझै पहिरोको जोखिम कायम रहेको भन्दै प्रहरीले यात्रु तथा सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।
सडक निर्माणका क्रममा पहाडको भित्ता कटान गरिएको कारण माथिबाट ढुङ्गा खस्ने घटना भइरहेकाले सतर्क रहनु पर्ने प्रहरीले चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया