काठमाडौं । रौतहटमा बरामद भएको ६ सय बोराभन्दा बढी चिनी गायब बनाइएको प्रकरणमा नम्बर ११ गणका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर लामासहित १८ जनामाथि अनुसन्धान अघि बढाइएको छ ।
सो गणका डीएसपी अमर लामालाई सशस्त्र प्रहरी मुख्यालयमा झिकाएर छानबिन थालिएको छ भने अन्य १७ जनालाई नम्बर २ बाहिनीको कार्यालय बर्दिबास बोलाएर आन्तरिक छानबिन अघि बढाइएको छ ।
घटनामा प्रत्यक्ष जोडिएको भन्दै डीएसपी लामालाई सशस्त्र मुख्यालय नै झिकाइएको हो । जिम्मेवारी खोसेर सशस्त्र प्रहरीले उनीमाथि आन्तरिक छानबिन अघि बढाएको छ ।
डीएसपी दर्जासम्मको व्यक्तिलाई सम्बन्धित बाहिनीपति (डीआईजी) ले नै नसियत दिनसक्ने सशस्त्र प्रहरी नियमावलीमा उल्लेख छ । तर डीएसपी लामालाई भने हेडक्वार्टर नै तानेर अनुसन्धान अघि बढाइएको हो ।
हेडक्वार्टर तानिएका लामा करिब ४ महिनाअघि मात्रै रौतहट पुगेका थिए । उनी यसअघि पनि रौतहटको बोर्डर आउट पोस्ट (बीओपी)मा बसेका थिए ।
यो छापा हान्दाका मुख्य कमान्डर नै लामा भएकाले उनैको मुख्य भूमिका हुनुपर्ने भन्दै सशस्त्रले त्यही अनुसारको कारबाही गर्ने तयारी गरेको छ ।
डीएसपी लामासँगै छापा हान्न गएका टोलीका अन्य १७ जनामध्ये एक डीएसपी र तीन इन्स्पेक्टर पनि छन् । उनीहरूले डीएसपी लामाले भनेअनुसारको काम गरेको आरोप छ । तस्करीको चिनी गायब बनाउन उनीहरूको समेत मिलेमतो रहेको आरोप छ ।
यसरी बाहिनी कार्यालयमा तानिनेमा सुरक्षा बेस सन्तपुर, रौतहटका डीएसपी राजेन्द्र बस्नेत पनि छन् । यस्तै नं. ११ गण हेडक्वार्टर रौतहटका एक इन्स्पेक्टर, सुरक्षा बेस देवाही रौतहटका एक इन्स्पेक्टर र सुरक्षा बेस दुधियाभारका एक इन्स्पेक्टर छन् । उनीहरूलाई बाहिनी तानेर सोधपुछ गरिएकोमा सम्बन्धित कार्यालयमा फिर्ता गरेर छानबिन अघि बढाइएको छ ।
छानबिन अघि बढाइएकामा दुई जना जुनियर सशस्त्र प्रहरी अधिकृत र ११ जना जवान, हवलदार रहेका छन् ।
यो प्रकरणमा नं. ११ गण हेडक्वार्टर रौतहटलाई ध्यानाकर्षणसमेत गराइएको छ भने इन्स्पेक्टर रामचन्द्र लागेजुलाई बाहिनीबाट नसियतसमेत दिइसकिएको छ ।
एसपी सन्तोषबहादुर बस्नेत, इन्स्पेक्टर गणेशकुमार बोहरा, इन्स्पेक्टर दधिराम पौडेललाई ध्यानाकर्षण गराइएको छ ।
रौतहटको गरुडा नगरपालिकास्थित शिवनगरमा रहेको उपेन्द्र सहनीको घरमा भन्सार छलेर ल्याइएको ७०० बोराभन्दा बढी चिनी भण्डारण गरिएको पाइएको र चिनी भण्डारण गरिएको ठाउँ प्रस्तावित सीमा सुरक्षा गुल्म गौरको एरियामा पर्ने भएकाले सोही गुल्मका डीएसपी अमर लामालाई अवैध चिनी भण्डारण गरेर राखिएको ठाउँमा छापा मार्न निर्देशन दिइएको थियो । साउन २९ गते राति डीएसपी लामाको टोलीले सहनीको घरमा छापा मारेको थियो । ७०० बोरा बरामद गरिएकोमा १०६ बोरा मात्रै भन्सार कार्यालयमा बुझाइएको खुलेपछि उनीहरूमाथि एक्सन लिइएको हो ।
यो प्रकरणमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले नै घटनाको छानबिन गर्न निर्देशन दिएका थिए ।
‘ठूलो परिमाणको चिनी भण्डारण गरिएको ठाउँबाटै हराएपछि छानबिन सुरु गरेका छौँ । केही व्यक्तिलाई जिम्मेवारीबाट हटाएर आन्तरिक छानबिन अघि बढाएका छौँ । विस्तृत छानबिनपछि यथार्थ विवरण आउला,’ सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले भने ।
१०६ बोरा चिनीसँगै ९ बोरा सिमेन्ट, १० बोरा मल, लुगा धुने सर्फ ९ बोरा पनि बरामद गरेर बुझाइएको भन्सारको रेकर्डबाट नै खुलेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीको नेतृत्व सम्हालेदेखि नै मातहतका निकायलाई निरन्तर भन्दै आएका थिए– ‘सीमा क्षेत्रबाट हुने चोरी निकासी पैठारी र अवैध आवतजावत रोक्नका लागि थप कडाइ गर्नु ।’
उनले यो पनि भन्दै आएका थिए– ‘सीमा इलाकामा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सूक्ष्म रूपमा निगरानी गरिरहेको छ । त्यसमा कतै कमीकमजोरी देखिएमा वा शंका लाग्नासाथ कुनै पनि कमान्डरलाई छानबिन र कारबाहीको भागिदार बनाइने छ ।’
अर्याल सशस्त्र प्रहरी महानिरीक्षक बनेको ४० महिना बितिसकेको छ । सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार उनी अब ८ महिना मात्रै सशस्त्रको नेतृत्वमा रहन्छन् । बीचैमा ऐन आए त्यति समय पनि उनीसँग छैन ।
सशस्त्र प्रहरीमा स्वच्छ छवि बनाएका महानिरीक्षक अर्यालले सीमा क्षेत्रबाट हुने चोरी निकासी पैठारी र अवैध आवतजावत रोक्नका लागि जति कडाइ गर्न निर्देशन दिएपनि, कमान्डरलाई छानबिन र कारबाहीको भागीदार बनाउने चेतावनी दिएपनि मातहतका अधिकृतहरूले एउटा कानले सुन्ने, अर्को कानले उडाउने गर्दै आएका छन् । बल्ल बल्ल पाइने कमान्डमा मस्ती नगरे कहिले गर्ने भन्ने सोच उनीहरूमा बढ्दै गएको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया