काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले लिपुलेक–कालापानी विवादमा सरकारलाई राष्ट्रिय हितमा दृढ अडान लिन सुझाव दिएका छन् ।
चीन–भारतबिच लिपुलेक हुँदै व्यापारिक सम्झौता नेपाललाई सोधपुछबिना भएको भन्दै उनले प्रधानमन्त्रीलाई दरोसँग उभिएर स्पष्ट रूपमा दुवै छिमेकीसँग कुरा गर्न सहयोग गर्ने वातावरण बनाउनुपर्ने बताए ।
शुक्रबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘झुक्ने होइन, तथ्य प्रमाणसहित दरोसँग भन्न सक्नुपर्छ लिपुलेक नेपालको हो । हाम्रो भूमिबाट व्यापारिक सम्झौता गर्दा किन सोधिएन भन्ने कुरा स्पष्ट राख्नुपर्छ ।’
उनका अनुसार सीमा विवाद, खुला सीमानाको व्यवस्थापन, व्यापार तथा पारवहन सुविधा लगायतका विषयलाई वार्तामार्फत समग्र ढंगले समाधान गर्नुपर्छ । उनले पहिले चीन र भारतसँग छुट्टाछुट्टै वार्ता गरेर, सम्भव भए संयुक्त संवादमार्फत दीर्घकालीन निकास खोज्नुपर्ने सुझाव दिए ।
भट्टराईले छिमेकीसँग सम्बन्ध राख्दा न त अनावश्यक रुपमा कसैलाई चिढ्याउने, न त लम्पसार पर्नुपर्ने बताए । ‘भारत र चीन जस्ता उदीयमान शक्तिराष्ट्रबीच नेपाल हुनु अवसर हो । प्रतिस्पर्धी लाभको हिसाबले सम्बन्ध राख्न सक्यौँ भने दुई दशकभित्रै विकसित अवस्थामा पुग्न सक्छौँ,’उनले भने ।
उनले २०२० मा पूर्वी लद्दाखमा भएको झडपपछि लिपुलेक नाका बन्द भएको तर पछिल्ला वर्षहरूमा नेपाललाई जानकारी नदिई भारत–चीनबिच तीर्थयात्रा र व्यापारिक प्रयोजनका लागि पुनः खोलिएको स्मरण गराए । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो भू-भाग हो भन्ने ऐतिहासिक तथ्य छन् । तर भारतले अस्वीकार गरेको छ, चीनले पनि आफ्नो नयाँ नक्सामा नेपालले दाबी गरेको भू-भाग स्वीकार गरेको छैन,’भट्टराईले भने ।
उनले राजनीतिक नेतृत्वको जिम्मेवारी भनेकै चुनौतीलाई अवसरमा बदल्नु हो भन्दै अहिले देखिएको संकटलाई बुद्धिमत्ता र चातुर्यका साथ रणनीतिक कदम चालेर समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया