रविलाई भेटेपछि प्रचण्डले भने– ‘उहाँ दुब्लाउनुभएछ’

लोकपथ
3k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन् ।

बुधबार ललितपुरको नख्खु कारागारमा पुगेर प्रचण्डले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई भेटेका हुन् । भेटपछि प्रचण्डले भैरहवा कारागारमा भन्दा यहाँ राम्रो सेवासुविधा रहेको र यहाँको व्यवस्थापनको प्रशंसा गरेको बताए । तर भैरहवामा हुँदा आफूले निकै दुःख पाएको र झण्डैझण्डै गोलघरकै हालतमा राखिएको गुनासो गरेको प्रचण्डले बताए । साथै भैरहवामा हुँदा नराम्रोसँग राखिएका कारण लामिछाने दुब्लाएको महसुस आफूले गरेको उनले बताए ।

‘भैरहवा बस्दा उहाँको अवस्था धेरै नै जटिल रहेको भन्ने उहाँको अनुहारमा पनि देखिन्छ । उहाँ दुब्लाउनु भाछ । भैरहवामा उहाँको भाषामा भन्ने हो भने झण्डैझण्डै गोलघर जसरी राखियो मलाई र धेरै ठूलो पीडामा भएँ म भन्ने थियो,’ प्रचण्डले भने, ‘उहाँले यहाँ आएपछि आफ्नो बसाइ राम्रो भएको, खानपिन र अन्यकुरा भैरहवाको भन्दा राम्रो रहेको भन्दै यहाँको व्यवस्थापनको प्रसंशा पनि गर्नुभयो ।’

त्यस्तै आफू भैरहवा कारागारमा नै पुगेर भेट्न खोजेको तर समय अभावका कारण त्यसो हुन नसकेको तर अहिले समय मिलेको बताए ।

आफू नेतृत्वको सरकारमा २ पटक गृहमन्त्री रहेका कारण आफूले अभिभावकका रुपमा लामिछानेलाई भेटेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?