काठमाडौं । रक्षामन्त्री मानवीर राईले काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
बुधबार रक्षा मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८०/८१ को प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री राईले नेपाली सेनामार्फत भइरहेको निर्माण कार्य सन्तोषजनक भएको दाबी गरे ।
उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा द्रुतमार्गको प्रगति अघिल्लो वर्षको लक्ष्यको तुलनामा ६७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा आयोजना समष्टिगत रूपमा ४२.१३ प्रतिशत सम्पन्न भएको मन्त्री राईले जानकारी दिए ।
द्रुतमार्ग निर्माणका लागि २०८३ साल चैत्र मसान्तसम्मको समयसीमा तोकिएको छ । मन्त्री राईले लक्ष्यअनुसार काम पूरा गर्न चालु वर्ष थप मेहेनत आवश्यक रहेको भन्दै आयोजना प्रमुखदेखि सञ्चालन निकायसम्मका सबैलाई गम्भीरतापूर्वक लाग्न आग्रह गरे ।
उनले भने, ‘आर्थिक वर्ष २०८१८२ मा काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको प्रगति अघिल्लो वर्षको लक्ष्यको तुलनामा ६७ प्रतिशत हाँसिल भई गत असारसम्मको समष्टिगत प्रगति ४२।१३ प्रतिशत देखिन्छ । यसबाट लक्षित समय अर्थात् २०८३ चैत्र मसान्तभित्र आयोजना सम्पन्न गर्न थप प्रयास जरुरी छ ।’
मन्त्री राईले सेनाद्वारा सञ्चालन भइरहेका अन्य सडक तथा कोरिडोरमा पनि राम्रो प्रगति भएको उल्लेख गर्दै विपद्पछिको उद्धार, राहत र पुनःस्थापनामा सेनाले खेलेको भूमिकाको प्रशंसा गरे । तर, कतिपय निर्माण कार्यमा बजेट सीमितताले ढिलाइ हुने देखिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया